आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

प्रधानमन्त्री कार्यालयले कर्णाली प्रदेशलाई दियो यस्तो गाडी

  • रारा रैबार
  • २०७४ चैत्र १३, मंगलबार मा प्रकाशित
  • २७० पटक पढिएको
  • १३ चैत, सुर्खेत । ‘८९ हजार ८ सय कि.मि. गुडेको, बडी मर्मत गर्नु पर्ने, टर्बोमा समस्या भएको, एसी नभएको, सर्भिसिङ गर्नुपर्ने, अगाडिको सिसा फुटेको, ब्याकलाइट नभएको ।’
    यो लिलामीमा राखिएको कवाड गाडीको सूचना होइन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्णाली प्रदेश (प्रदेश ६) लाई दिएको गाडीको अवस्था हो । प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ को स्कर्पियो गाडी दिइएको छ । तर, मर्मत गरेर चढ्न पनि मुस्किल छ ।

    केन्द्र सरकारले कर्णाली प्रदेशका लागि ११ वटा गाडी पठाएको छ । तर, धेरै गाडीको अवस्था यस्तै छ ।
    दुई वटा त चल्ने अवस्थामा छैनन् । केन्द्रबाट आएको बा १ झ ९१८८ नम्बरको स्कार्पियो र बा १ झ ३८६९ नम्बरको ल्यान्डक्रुजर प्रयोग नै गर्न नमिल्ने अवस्थामा छन् । स्कार्पियो प्रधानमन्त्री कार्यालय र ल्यान्डक्रुजर गाडी शिक्षा विभागले पठाएको हो ।
    शिक्षा विभागबाट पठाइएको बा १ झ ३८६९ नम्बरको अर्काे गाडी चालु अवस्थामै छैन ।’गाडीको किसिम’ शीर्षकमा लेखिएको छ-चालु अवस्थामा नरहेको, मर्मत गर्नुपर्ने।
    केन्द्रबाट पठाएको गाडीको विवरण
    गाडी व्यवस्थापन गर्न गाह्रो 
    केन्द्रले बिग्रिएका र थोत्रा गाडीहरु मात्र पठाएपछि कर्णाली प्रदेश सरकारलाई गाडीहरु व्यवस्थापन गर्न गाह्रो भएको छ ।
    १५ वटा गाडी पठाउने जानकारी आएपनि तीन वटा अझै नआएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत युवराज न्यौपानेले जानकारी दिए । ‘१५ वटा गाडी पठाउने भन्ने जानकारी आएको हो, ३ वटा आएका छैनन्,’ उनले भने, ‘आएकामध्ये पनि २ वटा बिग्रिएकोले गाडी व्यवस्थापनमै समस्या भएको छ ।’
    कर्णाली प्रदेशमा तत्कालको व्यवस्थापनकै लागि पनि ३४ वटा गाडी चाहिने देखिएको छ ।
    तर, केन्द्रले नदिएका कारण प्रदेशसभाका ४ वटा विभिन्न समितिका सभापति, विपक्ष दलको नेता, दलका सचेतक, संसदीय दलको नेताहरुलाई समेत प्रदेश सरकारले गाडीहरु उपलब्ध गराउन सकेको छैन ।
    त्यस्तै प्रदेशसभा सचिवालयका सचिव, आर्थिक मामिलाका सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई समेत गाडी उपलब्ध गराउन सकिएको छैन ।
    प्रदेश सरकारले कतिपय मन्त्री र सचिवहरुलाई जिल्ला तथा क्षेत्रीय कार्यालयसँग समन्वय गरेर व्यवस्था मिलाएको छ ।
    स्रोत:onlinekhabar.com

    प्रतिक्रिया दिनुहोस