आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  Breaking News

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

  • रारा रैबार
  • २०७५ अषाढ १८, सोमबार मा प्रकाशित
  • ३४३ पटक पढिएको
  • मुगु १८ असार रारा रैवार 

    आइतबार राति देखिको बर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध बनेको छ । कर्णाली राजमार्गको मुगु, जुम्ला, कालिकोट सुर्खेत जोड्ने सडक खण्ड अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा निरन्तर पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।
    सामान्य पानी पर्दा पनि पहिरो खस्ने गगने खोलामा पहिरोको स्थायी व्यवस्थापनका लागि सडक विभागले ध्यान नदिँदा कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधन तथा यात्रा गर्ने यात्रुहरूले सास्ती खेप्नु परेको हो । गगने खोलाका भीरमा वर्षेनी पहिरो खस्ने गर्छ ।
    पहिरोको कारण कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनहरू, स्थानीय यात्रुहरू तथा कर्णाली प्रदेशकै चर्चित पर्यटकीय क्षेत्र राराताल जाने आन्तरिक पर्यटकहरू बीच बाटोमै अलपत्र परेका छन् । सोमबार बिहानैबाट मुगु, जुम्ला, कालिकोट देखि सुर्खेत, नेपालगन्ज र नेपालगन्ज सुर्खेतदेखि कालिकोट जुम्ला, मुगु जाने सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका हुन् ।
    कालिकोट जिल्लाको हुल्म बजार, जिते बजार र गगनेखोला आसपासका सडकहरूमा यात्रुवाहक तथा मालवाहक गाडीहरू लाइन लागेर रोकिएको जिल्ला प्रहरी कालिकोटका प्रमुख डिएसपी सुवासचन्द्र बोहराले बताए । गगन खोलामा खसेको पहिरो पन्छाउन स्काभेटर र प्रहरी खटिएपनि सडक खुलाउन सकिएको छैन । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख माधव अधिकारीका अनुसार निरन्तर पहिरो खसिरहेकोले पन्छाउन समस्या भएको हो ।

    साभार नयाँ प्रत्रिका दैनिक

    प्रतिक्रिया दिनुहोस