आज: २०७८ माघ ४, मंगलबार
होमपेज /  Breaking News

कांग्रेसको १० दिनदेखि जारी मतगणना आज सकिँदै : तीन क्लष्टरको मतगणना अन्तिम चरणमा

  • रारा रैबार
  • २०७८ पौष ७, बुधबार मा प्रकाशित
  • २७ पटक पढिएको
  • काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि १० दिनदेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले तीन क्लष्टरअन्तर्गत केन्द्रीय सदस्यहरूको मतगणना जारी छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजेदेखि बाँकी रहेका तीन क्लष्टरको मतगणना सुरु भएको हो । निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठका अनुसार अहिले खसआर्य, आदिवासी जनजाति र दलित क्लष्टरका केन्द्रीय सदस्यहरूको मतगणना जारी छ ।

    श्रेष्ठका अनुसार खसआर्यको पाँच स्थानबाट, आदिवासी जनजातिको चार स्थानबाट र दलितको पाँच स्थानबाट मतगणना जारी छ । आजै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको उनले बताए ।

    कांग्रेस विधानानुसार दलित क्लष्टरतर्फ चार महिलासहित नौजना केन्द्रीय सदस्यमा निर्वाचित हुने व्यवस्था छ । यस्तै, आदिवासी जनजातितर्फ सात महिलासहित १५ जना केन्द्रीय कार्यसमितिमा रहनेछन् । खसआर्यतर्फ ६ महिलासहित १३ जना केन्द्रीय सदस्य बन्न पाउने विधानको व्यवस्था छ ।

    “खस आर्यतर्फ धेरै उमेदवार भएकाले गणना केही सुस्त भएको महसुस भइरहेको छ,” सदस्यसचिव श्रेष्ठले भने, “हामी आजै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारीमा छौँ ।” कांग्रेस विधानले १६७ सदस्यीय केन्द्रीय कार्यसमिति बन्ने व्यवस्था गरेको छ । जसमध्ये १३४ जना खुला र क्लष्टरबाट निर्वाचित हुनुपर्ने विधानको व्यवस्था छ । जसमा १४ जना पदाधिकारी रहनेछन् ।

    पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गएको मंसिर २७ गते रातिदेखि मतगणना सुरु भएको थियो । पहिलो चरणमा सभापतिको नतिजा नआएपछि २८ गते पुनः मतदान गरिएको थियो । सोही राति सभापतिको मतगणना सुरु भएर २९ गते बिहान परिणाम सार्वजनिक भएको थियो । सभापतिमा दोस्रो कार्यकालका लागि शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित भएका थिए ।

    निर्वाचन समितिले २९ गतेदेखि केन्द्रीय उपसभापतिको मतगणना सुरु गरेर पुस १ गते बिहान नतिजा सार्वजनिक गरेको थियो । धनराज गुरुङ र पूर्णबहादुर खड्का उपसभापतिमा विजयी भएका थिए ।

    कांग्रेस महामन्त्रीतर्फको मतगणना पुस १ गते बिहान सुरु गरिएको थियो । सोही दिन दिउँसो महामन्त्रीको अन्तिम नतिजा आएको थियो । गगन थापा र विश्वप्रकाश शर्मा विजयी भए ।

    केन्द्रीय निर्वाचन समितिले महामन्त्रीको नतिजा आएको केही समयमै सहमहामन्त्रीतर्फको मतगणना सुरु गरेको थियो । क्लष्टरबाट आठ सहमहामन्त्रीमध्ये दलित, आदिवासी जनजाति तथा महिलातर्फको मतगणना गरिएको थियो । पुस २ गते बिहान आएको अन्तिम नतिजाअनुसार दलिततर्फ जीवन परियार, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे तथा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी थिइन् ।

    बाँकी रहेका पाँच क्लष्टरमा भने पुस २ गते मतगणना भएको थियो । जसमध्ये पिछडिएको क्षेत्रमा बद्री पाण्डे, मुस्लिमतर्फ फरमुल्लाहा मन्सुर, खसआर्यतर्फ किशोरसिंह राठौर, मधेसीतर्फ महेन्द्र यादव, थारुतर्फ उमाकान्त चौधरी विजयी भए ।

    सोही दिनदेखि सुरु भएको केन्द्रीय सदस्यहरूको मतगणना आज ( बिहीबार ) सकाउने लक्ष्य राखिएको सदस्यसचिव श्रेष्ठले बताए । नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते भएको निर्वाचनमा मतदाताहरूले २९ मतपत्रमा मतदान गरेका थिए ।

     

     

    प्रतिक्रिया दिनुहोस