आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

चन्द्रे कामी र सुन्तली मल्ल पक्षबीच सहमति : उमेर पुगेपछि राजीखुसी विवाह गर्न सक्ने

  • रारा रैबार
  • २०७८ पौष ११, आईतबार मा प्रकाशित
  • २१० पटक पढिएको
  • मुगु : हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर नात्ताका १९ वर्षीय चन्द्रे कामी र मुगुको सोरु गाउँपालिका–४, लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्ल पक्षबीच सहमति भएको छ ।

    विवाह गर्न कानुनी रूपमा उमेर नपुगुन्जेलसम्म आ–आफ्नो घरमा बस्ने र उमेर पुगेपछि केटा र केटीले चाहे राजीखुसीमा विवाह गर्न सक्ने गरी सहमति भएको छ ।

    जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेरम्ब शर्माले दुवै पक्षको सहमतिमा आ–आफ्नो घरमा बस्ने गरी पठाइएको जानकारी दिए । अहिले उनीहरूको विवाह गर्ने उमेर नपुगेकाले दुवै पक्षको सहमतिमा आ–आफ्नो घर पठाइएको उनले बताए ।

    ‘‘केटा र केटीका अभिभावकसँग छलफल भयो । उहाँहरूले कानुनी प्रक्रियामा अघि नबढ्ने बताउनुभयो । दुवैजनाको उमेर पुगेको छैन । कानुनबमोजिम पनि विवाह नहुने भयो । त्यसैले उमेर पुग्नेसम्म आ–आफ्नो घरमा बस्ने गरी सहमति भएको छ । यद्यपि, केटा र केटीको मन्जुरी भए उमेर पुगेपछि विवाह गर्न सक्नेछन्,” डीएसपी शर्माले भने ।

    चन्द्रेले गएको मंसिर ५ गते सुन्लतीलाई ‘भगाएका’ थिए । त्यसपछि उनीहरू सर्केगाड–२, रिपगाउँमा लुकीछिपी बस्दै आएका थिए ।

    पछि युवती पक्षले केही नगर्ने भन्दै उनीहरूलाई घर बोलाइयो । उनीहरू केटाको घरमा आइसकेपछि युवती पक्षका करिब २० जनाको समूहले राति १२ बजे चन्द्रे र सुन्तलीलाई लिएर गएको थियो । चन्द्रेलाई हातपात गरी करिब १०० मिटर पर लगेर छोडिएको थियो ।

    चन्द्रेलाई नग्न बनाई निर्घात कुटपिट गरी बेपत्ता पारेको कामी पक्षको आरोप थियो । कामी पक्षको यस्तो आरोप सबै गलत रहेको प्रहरीले जनाएको छ ।

    डीएसपी शर्मा भन्छन्, ‘‘केटी पक्षले बेपत्ता पारेको होइन । केटा आफैँ डराएर जंगलतिर भागेको रहेछ ।” युवतीले आफ्ना बुवालाई लिन बोलाएपछि लिन आएको बयान दिएकी छन् ।

    बेपत्ता भनिएका चन्द्रेलाई प्रहरी टोलीले पुस ७ गते खार्पुनाथ गाउँपालिका–५, याङ्चुबजारमा फेला पारेको थियो । चन्द्रेले ०७७ जेठ १४ गतेदेखि आफूहरूको प्रेम सम्बन्ध सुरु भएको र पछि विवाह गर्नका लागि भागेको प्रहरीलाई बताएका थिए ।

    प्रहरीका अनुसार चन्द्रेलाई हातपात गरेको र तोडफोड गरेकोमा युवती पक्षले माफी मागेको छ । प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार विवाह गर्ने सहमतिमा मंसिर ५ गते राजीखुसीले आफूहरू भागेको युवतीले बयान दिएकी छन् ।

    ‘‘चन्द्रेको पत्ता नलाग्दा युवतीले टुनामुना लगाएर विवाह भएको बयान दिएकी थिइन् । अहिले चन्द्रेसँग विवाह गर्नकै लागि भागेको स्वीकार गरेकी छन् । यस्तै, केटापक्षको घरमा मध्यरातिमा जान नहुने भन्दै युवती पक्षले माफी मागेको छ,” निरीक्षक भण्डारीले भने ।

    चन्द्रे र सुन्तली भागेर लुकीछिपी बस्दै आएको बेलामा सर्केगाड–१ का वडाध्यक्ष गोकुल बुढालाई विवाह दर्ता गरिदिन आग्रह गरेका थिए । वडाध्यक्ष बुढाले उमेर नपुगी विवाह दर्ता गर्न नमिल्ने जवाफ दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस