आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

प्रचण्ड अध्यक्षमा दोहोरिने, अन्य पदाधिकारी केन्द्रीय कमिटीबाट चुनिने

  • रारा रैबार
  • २०७८ पौष १२, सोमबार मा प्रकाशित
  • ४८४ पटक पढिएको
  • काठमाडौं : नेकपा ( माओवादी केन्द्र ) को आठौँ राष्ट्रिय महाधिवेशनमा पुष्पकमल दाहाल  ( प्रचण्ड ) अध्यक्षमा दोहोरिने भएका छन् । प्रचण्डविरुद्ध कसैले पनि उमेदवारी दिने सम्भावना नदेखिएपछि उनी निर्विरोध निर्वाचित हुने भएका हुन् । तीन दशकभन्दा लामो समयदेखि प्रचण्ड माओवादी नेतृत्वमा छन् ।

    अन्य पदाधिकारीमा भने को आउने भन्ने टुङ्गो छैन । माओवादीले अध्यक्षसहित १५ जना पदाधिकारी बनाउनेछ । माओवादीमा वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६ महासचिव एक, उपमहासचिव दुई, सचिव तीन र कोषाध्यक्ष एकजना हुनेछन् ।

    पदाधिकारीमा ३० जना बढी आकांक्षी देखिएको नेताहरु बताउँछन् । यद्यपि, कसैले पनि आफूले कुन पदमा दाबेदारी गर्ने खुलेर भनेका छैनन् । तर, अर्थमन्त्रीसमेत रहेका नेता जनार्दशन शर्माले भने महासचिवका लागि दाबेदारी प्रस्तुत गरेका छन् ।

    माओवादी महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उक्त प्रतिवेदनमाथि छलफल हुनेछ । पार्टीको २५ वर्षको समीक्षा पनि गरिनेछ ।

    बन्दसत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । माओवादी केन्द्रको महाधिवेशन पाँच दिनसम्म चल्नेछ । माओवादी महाधिवेशनमा प्रतिनिधीले भने नेतृत्व चयन प्रक्रियामा सहभागिता जनाउन पाउने छैनन् ।

    बन्दसत्रले प्रचण्डको अध्यक्षतामा केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । त्यसपछि सोही केन्द्रीय कमिटीबाट अन्य पदाधिकारीको उमेदवारी लिइनेछ । माओवादीले निर्वाचन प्रक्रिया अनुसार नै उमेदवारी लिए पनि सर्वसम्मतिबाटै नेतृत्व चुन्ने बताइएको छ ।

    निर्वाचन हुने अवस्था आएमा सोही केन्द्रीय कमिटी सदस्यले मात्रै मतदानमा भाग लिन पाउनेछन् । माओवादी केन्द्रको विधानमा २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने व्यवस्था छ । तर, महाधिवेशनले सो संख्या बढाउन वा घटाउन सक्नेछ ।

    प्रतिक्रिया दिनुहोस