आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  Breaking News

सर्वोच्चका सबै पूर्व – नेतृत्वकर्ताहरूको सम्पत्ति छानबिन गर्न उजुरी

  • रारा रैबार
  • २०७८ पौष १६, शुक्रबार मा प्रकाशित
  • ७९१ पटक पढिएको
  • काठमाडौं : सर्वोच्च अदालतका पूर्व-प्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल  बार एसोसिएसनका पूर्व-अध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ।

    न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो। अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएका हुन्।

    अभियानका अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि बेञ्च वार समन्वय समितिमा रहने न्यायाधीशहरु लगायत पूर्व-न्यायाधीशहरु, बारका पूर्व-नेतृत्व र वर्तमान नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको पुष्टि गरेको बताए।

    उनीहरूले भ्रष्टाचार गरेर सम्पत्ति कमाएको ठहर अभियानले समेत गरेकाले छानबिनको माग गर्दै उजुरी दिएको अधिवक्ता नेपालले बताए।

    उनले भने, ‘अहिलेसम्मका सबै पूर्व प्रधानन्यायाधीशहरू, सर्वोच्च अदालतका पनि सबै पूर्व न्यायाधीशहरु, त्यसैगरी नेपाल बार एसोसिएसनको नेतृत्व, बेञ्च बार समन्वय समिति नामको बिचौलिया कमिटी, सेटिङ कमिटी नै भ्रष्टाचारको कारण हो र बिचौलिया हो भनेर सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनले पुष्टि गरेको छ। उहाँहरूले गलत ढंगले भ्रष्टाचार गरेर कमाएको सम्पतिलाई अन्यत्र उपयोग गरेर शुद्धीकरण गरिएको हाम्रो ठहर छ। यो सम्पति शुद्धीकरणसँग सम्बन्धित विषय भएको हुनाले यो विभाग सम्बद्धता यो प्रश्नमा राख्छ। त्यसैले सम्पति शुद्धीकरण अनुसन्धान विभागसमक्ष आज यो उजुरीपत्र प्रस्तुत गर्न लागिरहेका छौँ।’

    अभियानले पूर्व-प्रधानन्यायाधीश, पूर्व-न्यायाधीशहरुको निधन भइसकेको अवस्था देखिएमा उनीहरूका परिवारका सदस्यउपर पनि छानबिन गरिनुपर्ने माग गरेको छ।

    प्रतिक्रिया दिनुहोस