आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

केएमसी र नोबेलको सम्बन्धन खारेज गर्न विद्यार्थी संगठनको माग

  • रारा रैबार
  • २०७८ माघ ११, मंगलबार मा प्रकाशित
  • ६४७ पटक पढिएको
  • काठमाडौं :  संयुक्त विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज ९केएमसी० र मोरङको नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेको छ ।

    मंगलबार काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा :डा: भोला थापालाई ज्ञापनपत्र बुझाउँदै आठ विद्यार्थी संगठनका नेताले यस्तो माग गरेका हुन् । विद्यार्थी संगठनका नाममा आन्दोलन गरिरहेका आठ विद्यार्थी संगठनले जनकपुरको युथ क्याम्पसको खारेज गरिएको सम्बन्धन भने फिर्ता गर्न माग गरेका छन् ।

    नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँ, अखिल नेपाल विद्यार्थी युनियनलगायत संगठनमा आबद्ध विद्यार्थीहरूले मेडिकल कलेजका विद्यार्थीलाई अन्याय भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

    चिकित्सा शिक्षा अध्ययनका लागि ०७८ को नयाँ भर्ना गर्ने क्रममा नोबेल र केएमसीले प्रतिव्यक्ति झन्डै पाँच लाख बढी रुपैयाँ उठाएको, ऐच्छिक छात्रवासलाई अनिवार्य गरेको र कलेजको नेतृत्वसँग कुरा गर्दा विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई देखाएर पन्छने गरेको गुनासो विद्यार्थीले गरेका छन् ।

    नेविसंघ महामन्त्री युवराज पाण्डेका अनुसार कलेज प्रशासनले माग पूरा गर्ने छाँट नदेखाएपछि विद्यार्थी संगठनहरू उपकुलपतिको ध्यानाकर्षण गराउन पुगेका हुन् । “विद्यार्थीहरूको माग सम्बोधन गराउने र आन्दोलन अन्त्य गराउने बारेमा उपकुलपति थापा सकारात्मक देखिनुभएको छ,” महामन्त्री पाण्डेले भने ।

    विश्वविद्यालयको ध्यानाकर्षण गराएका विद्यार्थी संगठनहरूले आफ्नो आन्दोलनमा ऐक्यबद्धता र सहभागिताका निम्ति नागरकि समाज र अभिभावकलाई अपिल गरेका छन् ।

    “यो मेडिकल शिक्षाको सुधार र मेडिकल माफियाविरुद्धको आन्दोलन पनि भएकाले देशभरका मेडिकल विद्यार्थी, अभिभावक, पत्रकार नागरिक समाजलगायत सबैमा ऐक्यबद्धताका लागि अपिल गर्दछौँ,” आठ विद्यार्थी संगठनको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

    नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अखिल ( क्रान्तिकारी ) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन वैद्यनिकट अखिल ( क्रान्तिकारी ) का हरिकृष्ण गजुरेल, विप्लव विद्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, अखिल छैटौँका देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईले विज्ञप्तिमा हस्ताक्षेर गरेका छन् ।

    नेविसंघ अध्यक्ष ढुंगानाको भने कांग्रेस विधानानुसार कांग्रेस केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँग पद रिक्त भइसकेको छ । तर पनि उनले विद्यार्थी संघको अध्यक्षका रूपमा हस्ताक्षर गर्दै आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस