आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

मुगुका प्रहरी युनिटमा नागरिक सहजकर्ता

  • रारा रैबार
  • २०८० जेष्ठ १, सोमबार मा प्रकाशित
  • ११५ पटक पढिएको
  • हाम्रो रारा रैवार संवाददाता
    जेठ १ मुगु

    नेपाल प्रहरी र प्रहरी युनिटहरूबाट प्रवाह हुने सेवाहरू नागरिकलाई सहज, छिटो,छरितो र गुणस्तरीय रूप प्रदान गर्न नेपाल प्रहरीले आइतबारबाट देशभरका प्रहरी युनिटहरूमा नागरिक सहजकर्ता राख्ने काम शुरु गरेको छ ।दुर्गम हिमाली जिल्ला मुगुमा रहेको जिल्ला प्रहरी कार्यालयले पनि एक कार्यक्रम गदै प्रहरी कार्यालय र मातहतका १९ युनिटहरूमा नागरिक सहजकर्ता नियुक्त गरेको छ ।

    प्रहरी नायव उपरीक्षक महेश बस्नेतको अध्यक्षयतामा भएको कार्यक्रममा बोल्दै नागरिक समाज मुगुका अध्यक्ष रूप बहादुर मल्लले प्रहरी कार्यालयबाट यसअघि प्रवाह हुँदै आएका सेवाहरू भन्दा नागरिक सहजकर्ता नियुक्त भएपछि नागरिकहरूले सहज सेवा पाउने आश व्यक्त गरे ।प्रहरी युनिटहरूमा सर्वसाधारणहरू सेवा लिन जाँदा विभिन्न बाधा आई पर्ने, बिचैमा बिचौलियाहरू हाबी भई पीडितहरूबाट फाइदा उठाउने तर बदनाम प्रहरी प्रशासनको हुने गरेकाले नागरिकको सिधै प्रहरीसँग सम्पर्क होस र सेवा सुविधा सहज पाओस् भनेर नागरिक सहजकर्ताको अवधारणा प्रहरी प्रधान कार्यालयले ल्याएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए ।

    कार्यक्रमका प्रमुख अतिथि छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भामले नागरिक सहजकर्ता राख्ने प्रहरी प्रधान कार्यालयको निर्णय जनमुखी निर्णय भएको भन्दै प्रहरी मात्रले शान्ति सुरक्षा,अपराध नियन्त्रण गर्न नसक्ने भएकाले जनता र सुरक्षा निकायहरूले एक आपसमा नङ र मासुको जस्तो सम्बन्ध राखेमा राज्यले वास्तविक प्रतिफल प्राप्त गर्ने, अपराध नियन्त्रण न्यूनीकरणमा सहज हुने देखिएकाले पनि नागरिक र प्रहरी सम्बन्ध सुमधुर हुनका लागी नागरिक सहजकर्ता राख्ने निर्णय कोशेढुंगा साबित हुने विश्वास गरे ।

    प्रहरीले विभिन्न समयमा विभिन्न अवधारण ल्याई नागरिक मुखी कार्य र सेवा दिँदै आएको स्मरण गराउँदै कार्यक्रमका अध्यक्ष एवं प्रहरी नायव उपरीक्षक महेश बस्नेतले प्रहरी युनिटहरूमा सेवा लिन आउन सर्वसाधारणहरूको पहुँच सिधै कार्यालय सम्म पुगोस्, सेवाग्राही कहाँ सेवा लिने,कसलाई सम्पर्क गर्ने,सेवा लिन कति दस्तुर लाग्छ,कागजातका ढाँचा के हुन जस्ता विषयमा अलमलिएर समय बरबाद नगरोस् र सहजकर्ताको सहजीकरणले छिटो,छरितो र समय मै सेवा पाओस् भनेर नागरिक सहजकर्ताको अवधारणा आएको बताउँछन् ।

    प्रहरीबाट पाउने सेवा र प्रक्रियाबारे थाहा नपाउँदा अन्यायमा परेका नागरिकहरूले न्याय पाउन सकिरहेका थिएनन्, सेवा झन्झटिलो हुँदा गाउँघर मै अन्याय सहेर मेलमिलापमा जाने गदै आएका गरिब,निमुखा,सीमान्तकृत,महिला,बालबालिका,जेष्ठ नागरिकहरू यो अवधारणाबाट लाभान्वित हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस