आज: २०८१ जेष्ठ ७, सोमबार
ePaper
होमपेज /  Breaking News

अब फोन गरेकै भरमा भात पाक्ने….

  • रारा रैबार
  • २०७४ चैत्र १४, बुधबार मा प्रकाशित
  • ४६६ पटक पढिएको
  • राजु लामिछाने 

    रुकुम (पश्चिम), चैत १० – मुसीकोट नगरपालिका–११, चलाक्चाका वसन्त ओली उमेरले २१ वर्ष पुग्नुभयो ।
    दाङको पद्मोदय पब्लिक नमूना माविमा डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले विभिन्न ४० ओटा विद्युतीय उपकरण प्रयोग गरेर नयाँ उपकरण बनाउनु भएको छ । जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरेर उहाँले ६ महिनाको अवधिमा विशेष गरी घरायसी प्रयोगमा आउने उपकरण निर्माण गरेको जानकारी गराउनुभयो ।
    सुरुमा एसी पावरलाई डीसी र डीसी पावरलाई एसीमा परिवर्तन गर्ने उपकरण निर्माण गरेका ओलीले अहिले जिएसएम कन्ट्रोलरसम्म निर्माण गर्नुभएको छ । ओलीले निर्माण गर्नुभएका ४० विद्युतीय उपकरणमध्ये अहिले वाटर सेन्सर मात्रै बजारमा गएको छ ।
    पहिलो चरणमा निर्माण गरेका सय वटा वाटर सेन्सर बिक्री गरेको  र अब दश हजार वाटर सेन्सर बनाउने तयारीमा रहेको ओलीले जानकारी गराउनुभयो । वाटर सेन्सरले ट्याङ्कीको पानी सकिएको खण्डमा स्वचालित रुपमा मोटर खोल्छ भने ट्याङ्ककी भरिएपछि स्वचालित रुपमा नै पानी तान्ने मोटर बन्द गर्ने गर्दछ । यो उपकरण घरायसी काममा प्रयोग भैरहेको र धेरै माग आइरहेको पनि उहाँले बताउनुभयो ।
    यसैगरी उहाँले पछिल्लो पटक बनाएको विद्युतीय उपकरण जिएसएम कन्ट्रोलर हो । यसले फोन गरेकै भरमा राइस कुकरमा भात पकाउने, रेफ्रिजेरेटर खोल्ने र बन्द गर्ने तथा सबै विद्युतीय उपकरण खोल्ने र बन्द गर्ने गर्दछ । नेपाल टेलिकमको एउटा जीएसएम सिम र आइसी जडान गरेर यो उपकरण बनाइएको छ । विद्युतीय उपकरणको काम नसकिँदै बत्ती गएको खण्डमा पनि यस उपकरणले सम्बन्धित व्यक्तिलाई फोन वा म्यासेज पठाएर खबर गर्ने उहाँले दाबी गर्नुभयो ।
    यसैगरी उहाँले निर्माण गरेको अर्को उपकरण सेक्युरीटी सिस्टम पनि हो । घर/पसल बन्द गरेर कतै हिँडेका बेला त्यस ठाउँमा कोही पसेमा वा चोरी गर्न थालेमा लगत्तै यो उपकरणले सम्बन्धितलाई फोन गरिदिने र चोरी हुनबाट बच्ने उहाँले बताउनुभयो । ओलीले फेज भोल्टेज टेस्टर, रिमोटबाटै ढोका खुल्ने, बत्ती बाल्ने, पंखा घुमाउने उपकरण पनि बनाउनु भएको छ ।
    रात परेपछि आफैँ बल्ने तथा उज्यालोमा आफैँ निभ्ने बत्ति, मान्छे पस्न बित्तिकै कोठामा आफै बत्ति बल्ने तथा मान्छे बाहिर निस्केपछि आफै बत्ति निभ्ने मोशन लाइट नाम उपकरण पनि ओलीले बनाउनु भएको छ । यसैगरी भोल्टेज कन्ट्रोलर, रोबेटिक गाडी, थपडी तथा चुड्कीले बल्ने बत्तीलगायतका अन्य विद्युतीय उपकरण समेत बनेका छन् ।
    सानै उमेरदेखि विद्युतीय सामग्रीमा चासो भएकाले पछिल्लो समय विद्युतीय उपकरण बनाउन सफल हुँदै गएको उहाँको भनाई छ ।  ७/८ कक्षा पढ्दादेखि नै यस्तै काममा रुची राख्ने र ओली स–साना लाइटहरु सानैमा बनाएको उहाँले स्मरण गर्नुभयो । ३ सय बढी उपकरण बनाउँदा ४० उपकरण सफल भएको उहाँले जानकारी दिनुभयो । ओलीले विभिन्न उपकरण बनाउने क्रममा ७० हजार रुपैयाँभन्दा बढी रकम खर्च भएको छ । 
    पढ्ने भनेर घरबाट पठाइएको खर्च कटाएर विद्युतीय उपकरण निर्माणका लागि आवश्यक सामग्री खरिद गर्ने गरेको र काम गर्दै जाँदा सफल भैरहेकाले नयाँ उपकरण आविष्कार गर्ने योजनामा रहेको उहाँले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
    ‘इच्छाशक्ति, चासो भएपछि धेरै गर्न सकिन्छ, म पनि त्यस्तै गरिरहेको छु, सफल पनि भैरहेको छु अझै गर्न सकिन्छ भन्ने विश्वास पनि बढ्दै गैरहेको छ’ उहाँले भन्नुभयो । उहाँले चाँडै नै चालक विनै गुड्ने गाडी, मान्छे विना खाना पकाउने प्रविधि, धान काट्ने मेसिनलगायतका यन्त्रहरु अविष्कार गर्ने लक्ष्य रहेको ओलीले जानकारी दिनुभयो ।
    Source: http://ujyaaloonline.com/news/95916/If-you-phone-the-food-was-cook/

    प्रतिक्रिया दिनुहोस