आज: २०८१ बैशाख १७, सोमबार
ePaper
होमपेज /  Breaking News

शैक्षिक सत्र सुरु अगावै पुग्यो मुगुमा पाठ्यपुस्तक

  • रारा रैबार
  • २०८० चैत्र २५, आईतबार मा प्रकाशित
  • ८७ पटक पढिएको
  • रारा संवाददाता
    चैत २५ मुगु
    सधैँ पाठ्यपुस्तकको अभाव झेल्दै आएका मुगुका विद्यार्थीहरुले यसपटक भने समयमै पाठ्यपुस्तक पाउने भएका छन् । शैक्षिक सत्र सुरु हुन एक हप्ता बाँकी रहँदै हप्ता दिन अगावै जिल्लामा पाठ्यपुस्तक पुगेपछि यसपटक मुगाली विद्यार्थीहरुले पाठ्यपुस्तकसहित कक्षामा प्रवेश गर्ने भएका हुन् । बिगतका वर्षहरुमा विद्यार्थीहरुले वार्षिक परीक्षा आइसक्दा पनि पुरै विषयका पुस्तक नपाउँदा अधुरो पढाइमै परीक्षा दिँदै आएका थिए । जिल्लास्थित चार वटा स्थानीय तहहरुमध्य शुक्रबारसम्म छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाहरुमा रहेका सामुदायिक विद्यालयहरुका लागि पुस्तक बिक्रेताहरुले पाठ्यस्तकहरु पालिका केन्द्रहरुमा पुर्याइसकेका छन् ।
    छायाँनाथ रारा नगरपालिकामा रहेका ४५ सामुदायिक विद्यालयहरुका लागि पहिलो लटमा ४ हजार ५०० सेट पुस्तक जिल्लामा पुगेको पुस्तक बिक्रेता जयलक्ष्मी पुस्तक पसलका प्रोपराइटर लक्ष्मी भामले बताइन् । बिगतका वर्षहरुमा विद्यार्थीले पुरै विषयका पुस्तक नपाएको र जनक शिक्षामा पनि पुस्तक अभाव थियो ।
    बिक्रेविग्रेताले ढिलो किताब उठाउँदा जनक शिक्षामा पुरै विषयका पुस्तक नपाउने र पाइए पनि अधुरा विषय पाइने गरेकोले यसपटक समय मै पुस्तक ल्याउन ताकेता गरेको र जनक शिक्षाले पनि पर्याप्त पुस्तक समयमै छपाएको पाइएको तथा अब विद्यार्थीले भर्नासँगै पुस्तक पाउने छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले बताए ।

    उता जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित सोरु गाउँपालिकामा पनि यसपटक समयमै पाठ्यपुस्तक पुगेका छन् । ठूलो गाडीमा जिल्लाको सदरमुकाम गमगढी पुगेको पुस्तक शनिबार साना गाडीमा लोड गरेर सोरु गाउँपालिका पुर्याइएको छ । पालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र मल्ल भन्छन्, ‘यहाँ रहेका ३८ वटा सामुदायिक विद्यालयहरुका लागि पुस्तक बिक्री गर्न जिम्मा लिएको शाही जनरल अडर एण्ड सप्लायर्सले ४ हजार ७ सय ७१ विद्यार्थीका लागि पुग्ने गरी सबै विषयका पुस्तक पालिकामा पुर्याइसकेको छ, २७ गतेबाट विद्यालयहरुलाई बिक्री–वितरण सुरु गरिनेछ ।’
    मुगुम कार्मारोङ गाउँपालिकामा रहेका १६ वटा सामुदायिक विद्यालयका १ हजार २०० विद्यार्थीका लागि पुस्तक बिक्रेताको जिम्मा लिएको युके स्टेशनरीले शुक्रबार जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशबाट पुस्तक बुझी गाडीमा हिँडाइसकेको र बुधबारसम्म पालिका केन्द्र पुलसम्म पुस्तक पुगिसक्ने मुगुम कार्मारोङ गाउँपालिका शिक्षा शाखा प्रमुख सुवास रावलले जानकारी दिए । जिल्लाको शैक्षिक क्षेत्रमा अगाडि रहेको खत्याड गाउँपालिकामा रहेका ४० वटा सामुदायिक विद्यालयका लागि पुस्तक बिक्रेताको जिम्मा लिएको एमभि इन्टरप्राइजेजले गत आइतबार नै पालिकामा पुस्तकहरु पुर्याइ बिक्री–वितरण सुरु गरिसकेको शिक्षा शाखा प्रमुख दानबहादुर बुढाले बताए । शैक्षिक सत्र वैशाख १ गतेबाट सुरु हुन्छ । १५ गतेसम्म विद्यालयमा भर्ना अभियान चल्छ ।

    चैतमै पुस्तक जिल्लामा पुगेकाले भर्नासँगै विद्यार्थीहरुले हातहातमा पुस्तक पाउने भएका छन् । यसपटक पुस्तकविनै विद्यार्थीले परीक्षा दिए । अपुरा पुस्तकले विद्यार्थीको अध्ययन अधुरो भन्ने जस्ता समाचार र विद्यार्थी,अभिभावक र विद्यालयहरुका गुनासा सुनिने छैनन् । कक्षा १ देखि १० सम्मका विद्यार्थीले सबै विषयका र कक्षा ११ र १२ का विद्यार्थीहरुले अनिवार्य विषयका पुस्तक निःशुल्क पाउने शिक्षा विकास तथा समन्वय इकाइ मुगुका निमित्त प्रमुख खड्कराज भियालले बताए । मुगु जिल्लामा १३९ वटा सामुदायिक विधालयहरु रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस