आज: २०८१ जेष्ठ ६, आईतबार
ePaper
होमपेज /  Breaking News

टिम कुलमान ! को-को छन् लोडसेडिङ हटाउने टिममा ?

  • रारा रैबार
  • २०७३ चैत्र २१, सोमबार मा प्रकाशित
  • ६१९ पटक पढिएको
  • २१ चैत, काठमाडौं । १८ घन्टासम्म लोडसेडिङ खेपेका उपत्यकाबासीहरु अहिले २४ घन्टा निश्चिन्त भएर विजुली बालिरहेका छन् । उपत्यका बाहिर पनि लोडसेडिङ न्यून हुँदै गएको छ ।

    धेरै वर्षदेखि भयावह रुप लिइरहेको लोडसेडिङलाई साइजमा ल्याउने प्रमुख पात्र हुन् विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उर्जामन्त्री जनार्दन शर्माले मुकेशराज काफ्लेलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको केही महिनापछि नै काठमाडौंमा लोडसेडिङ हुन छाडेको थियो ।
    पहिले के कारणले चर्को लोडसेडिङ भइरहेको थियो र अहिले एकाएक कसरी हट्यो भन्ने प्रश्न कुलमानलाई भेट्ने थुप्रैले तेस्र्याउँछन् । यसको जवाफमा कुलमानले भन्ने गरेका छन्, ‘पुरानो कुरा कुरा कोट्याउनतिर नलागौं । अहिले लोड म्यानेजमेन्ट गरेका छौं, यसैका कारण नै लोडसेडिङ अन्त्य भएको हो ।’

    चमत्कारको शैलीमा लोडसेडिङ हटाइदिने कुलमानको आज सबैतिर वाहवाही भइरहेको छ, जसका हकदार उनी हुन् पनि । यद्यपि, यो अभियानमा कुलमान एक्लै भने छैनन् । उनी कार्यकारी निर्देशक बनेपछि धेरै कर्मचारीमा काम गर्ने उत्साह बढेको छ ।

    अधिकांश उच्च तहका पदाधिकारीसँग उनी पछिल्लो अवस्थाको बारेमा सोधखोज गरिरहेका हुन्छन् । यसबाट कर्मचारीलाई खटेर काम गर्ने जाँगर चलेको छ ।

    कुलमानलाई मन्त्रीदेखि कर्मचारीसम्मको साथ र सहयोग छ । आखिर को-को हुन् त लोडसेडिङ हटाउने अभियानमा कुलमानका सारथी ?

    १. गोपालबाबु भट्टराई

    लोडसेडिङ अन्त्य गर्ने कुलमानको टिमका एक पात्र हुन् प्राधिकरणका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराई । ३३ केभिएसम्मको प्रसारणलाइन निर्माण, सवस्टेशन मर्मत-सम्भारका साथै मिटर रिडिङसम्मको काम उनकै नेतृत्वमा भएको छ ।

    लाइन जानेबित्तिकै जनताले नो लाइटमा फोन गरेर जानकारी लिन सक्छन् । यो काम उनकै नेतृत्वमा रहेको बितरण तथा ग्राहक सेवा निर्देशनालयले गर्छ । बिग्रिएका लाइनलाई तत्काल मर्मत गर्ने काममा भट्टराईले तीब्रता दिएका छन् । प्रसारण लाइन बिग्रेर लामो समय बिद्युतबिना बस्नुपर्ने अवस्था हटेको छ । प्राधिकरणका कुल कर्मचारीमध्ये ६० प्रतिशतभन्दा बढी उनकै निर्देशनालाय अन्तर्गत रहेका छन् ।

    कार्यकारी निर्देशकको प्रतिवद्धताले आफुहरुमा काम गर्ने उत्साह पलाएको भट्टराई बताउँछन् । उनले भने, ‘दिनदिनैको काममा उहाँले चासो राख्दा हामीलाई पनि काम गर्न उत्साह पलाएको छ । हाकिम नै समर्पित भएर लागेपछि हामी पछि हट्ने त कुरा आएन नी ।’

    २. विष्णुकुमार श्रेष्ठ

    प्रणाली सञ्चालन विभागको जिम्मेवारी सम्हालिरहेका श्रेष्ठको पनि लोडसेडिङ हटाउनमा ठूलो भूमिका रहेको छ । देशका विभिन्न भागमा रहेका पावर हाउस कतिबेला चलाउने र कति समय सञ्चालन बन्द गर्ने भन्ने निधो प्रणाली सञ्चालन विभागले गर्छ ।

    थप विद्युतको आवश्यकता देखियो भने जलाशयुक्त आयोजना कुलेखानी कुन बेलामा चलाउने र कति घन्टा चलाउने भन्ने पनि यही बिभागले टुङ्गो लगाउँछ । मागअनुसार विद्युत कहाँबाट उत्पादन गर्ने भन्ने चटारो यही बिभागलाई छ ।

    श्रेष्ठ भन्छन्, ‘अहिले त हामी जोश-जाँगरका साथ राती पनि काममा खटिएका छौ ।’ २०४६ सालदेखि बिद्युत प्राधिकरणमा जागीर सुरु गरेका श्रेष्ठ २५ वर्षदेखि यही बिभागमा कार्यरत छन् ।

    ३. मनोज सिलवाल

    लोडसेडिङ हटाउनमा भारतबाट आयातीत बिद्युतको पनि ठुलो हात छ । किनकि गत वर्षभन्दा यस वर्ष बिद्युत आयात बढेको छ ।

    खिम्ती ढल्केबर प्रसारण लाइनको निर्माण भएपछि भारतबाट विद्युत आयात थप्न सम्भव भएको हो । खिम्ती ढल्केबर प्रसारण लाइनको काम रातारात भएको थियो । यसरी प्रसारणलाइन निर्माण गर्ने बिद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमा निमित्त उपकार्यकारी निर्देशकको रुपमा मनोज सिलवाल रहेका छन् ।

    ४. प्रबल अधिकारी

    अधिकारी प्राधिकरणका प्रवक्ता तथा बिद्युत व्यापार विभागका प्रवन्धक हुन् । निजी कम्पनीबाट उत्पादित विजुलीको ‘पावर पर्चेज एग्रीमेन्ट’ गर्ने जिम्मेवारी पनि अधिकारीलाई नै छ । उनि धेरैजसो कुलमानसँगै हुन्छन् ।

    कुलमानलाई निर्णय प्रक्रियामा सघाउनेदेखि आवश्यक जानकारीसमेत अधिकारीले उपलब्ध गराउँछन् । कुलमानको व्यस्त सेड्युलसँगै दगुर्ने अधिकारीलाई मिडियाको चासो पनि सम्बोधन गर्ने जिम्मेवारी छ ।

    ५ हरेराम न्यौपाने

    निर्माणाधीन अवस्थामा रहेका जलबिद्युत आयोजनाको नियमन गर्ने काम उत्पादन निर्देशनालयले गर्दछ । दुई वर्षदेखि यही निर्देशनालयमा बसेर काम गरिरहेका छन् हरेराम न्यौपाने । उनले कुलमान आएपछि केही फरक महशुस गरेका छन् । समयमा निर्णय दिने कुलमानको बानीको उनी खुलेर प्रशंसा गर्छन् ।

    न्यौपाने भन्छन्, ‘नयाँ कार्यकारी निर्देशकले समयमै निर्णय दिनुहुन्छ र निर्णयका लागि हामीले छिट्टै उहाँलाई कन्भिन्स गर्न सक्छौ ।’

    ६ शान्ति लक्ष्मी शाक्य

    कर्मचारीको सरुवा गर्नेदेखि कुन कर्मचारी कहाँ काजमा खटाउने भन्ने जिम्मवारी शान्तिलक्ष्मी शाक्यको काँधमा छ । प्रशासनको निमित्त उपकार्यकारी निर्देशक शाक्यले हालै मात्र २४ सय कर्मचारीको सरुवा गर्ने आँट गरेकी थिइन् ।

    आफूले गरेको सरुवालाई कार्यकारी निर्देशकले साथ दिएकोमा उनी निकै खुसी छिन् । शाक्य भन्छिन्, ‘प्रशासन यस्तो ठाउँ हो, जहाँ कर्मचारी सरुवा गर्दा आफ्नै सरुवा हुन बेर लाग्दैन । तर कुलमान सरको कारण त्यसो भएन ।’

    ७. राजीव शर्मा

    प्रसारण निर्देशनालयमा उपयकार्यकारी निर्देशक रहेका राजीव शर्मा पनि लोडसेडिङ हटाउनका लागि खटिने महत्वपूर्ण व्यक्तिमा पर्दछन् । प्रसारण लाइनको निर्माण सञ्चालन तथा सम्भार गर्ने कार्यमा शर्माले सफल नेतृत्व दिइरहेका छन् ।

    ८. शिवकुमार अधिकारी

    कार्यकारी निर्देशकको सचिवालयमा रहेका छन् सहनिर्देशक अधिकारी । विभिन्न कार्यालय तथा क्षेत्रीय निर्देशनालयबाट आएका तथ्यांकहरु इन्ट्री गर्ने उनको जिम्मामा छ । यसरी प्राप्त भएका तथ्यांकका आधारमा कहाँ बढी विद्युत चुहावट भएको छ वा कुन ठाउँमा पोलहरु ढलेका छन् भन्ने जानकारी हासिल हुन्छ ।

    यही तथ्यांकका आधारमा कुलमानले कर्मचारीलाई निर्देशन दिने गर्छन् । साथै, उनकै सहयोगमा नीतिगत निर्णय बोर्डमा लैजाने अनि त्यो बोर्डबाट पारित भएको नीतिबमोजिम काम अघि बढाउनसमेत यो सचिबालयले महत्वपूर्ण भूमिका खेल्छ ।

    कुलमान अाफैं सक्रिय

    सामुहिक प्रयासमा भएको कामको म्ख्य जस अहिले कुलमानले नै लिएका छन् । किनकि लोडसेडिङ हटाउने कामको नेतृत्व उनले नै गरेका हुन् ।

    कुलमानसँग चिलिमे हाइड्रोपावरको प्रबन्ध निर्देशक भएर लामो समय काम गरेको अनुभव छ । उनले चिलिमेकै आम्दानीबाट तीनवटा अन्य आयोजना निर्माण सुरु गरेका थिए ।

    ती आयोजनाको निर्माण तीब्र गतिमा अघि बढाइरहेकै बेला तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले घिसिङलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा सरुवा गरिदिएकी थिइन् ।

    उनलाई चिलिमेबाट सरुवा गरेपछि रसुवामा आन्दोलनसमेत भएको थियो । तर, प्राधिकरणको कार्यकारी निर्देशक हुनुअघि उनी खासै चर्चित भने थिएनन् ।

    कुलमानले अहिले प्राधिकरणका प्रायः धेरै कर्मचारीबाट उचित सहयोग पाइरहेका छन् । उनी लोडसेडिङ घट्नुको श्रेय प्राधिकरण्को पूरै टिममा रहेको सार्वजनिक कार्यक्रमहरुमा बताउँछन् ।

    उनले विद्युत् विज्ञान भएकाले प्राधिकरणको सबै कर्मचारीको ‘टिम वर्क’बाट उपलब्ध विजुली म्यानेमेन्ट गर्दै अहिलेको अवस्थामा ल्याएको सम्भव भएको बताउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस