आज: २०८१ बैशाख २१, शुक्रबार
ePaper
होमपेज /  Breaking News

अन्तरजातिय विवाह : अपहरण शैलीमा वेपत्ता बनाईएका चन्द्रे अझै भेटीएनन्

  • रारा रैबार
  • २०७८ पौष ६, मंगलबार मा प्रकाशित
  • ६०० पटक पढिएको
  • मुगु : अन्तरजातिय विवाह गरेका हुम्ला सर्केगाड गाउँपालिका– १ जैरगाउँका युवक चन्द्रे कामीलाई केटी पक्षले अपहरण गरी एक सातादेखि गायब पारेको छ । गत बुधबार (२९ मंसिर) राति करिब २० जनाको समूह घरमै आएर निर्घात कुटपिट गर्दै लगिएका चन्द्रको अवस्था प्रहरीले समेत पत्तो पाउन सकेको छैन ।

    सर्केगाड गाउँपालिका—१ को जैर गाउँका १९ वर्षिय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा ४ को लिपु्र गाउँकी १९ वर्षिया सुन्तली मल्लसँग एक महिना अगाडी भागी बिबाह गरेका थिए । मंसिर २९ गते केटी पक्षका मान्छे कामीको घरमै पुगि केटा केटी दुबैलाई माईती घरमा ल्याई कुटपिट गरी सार्कीलाई तल्लो जातको मान्छेले ठकुरीको छोरी भगाएको भन्दै बेपत्ता बनाएको सार्कीका आफन्तले आरोप लागएका छन ।

    चन्द्रले ५ मंसिरमा मुगुको सोरु गाउँपालिका– ४ लिप्रु गाउँकी सुन्तली मल्लसँग भागीविवाह गरेका थिए । स्थानीयहरूका अनुसार सुरुदेखि नै सुन्तलीको माइती पक्षबाट धम्की आएपछि असुरक्षाका कारण उनीहरू सर्केगाड– २ को रिप गाउँमा बस्दै आएका थिए । तर, पछि घरमै आएर बस्न थालेको थाहा पाएपछि बुधबार राति केटी पक्ष आक्रमणको योजनासहित पुगेको थियो ।

    छिमेकीका घरमा ताला चन्द्रेको घर तोडफोड

    सबै छिमेकीका घरमा बाहिरबाट ताला लगाएर आफ्नो घर तोडफोड गरेको र छोरालाई निर्घात कुटपिट गर्दै बुहारीसहित लिएर गएको चन्द्रका बाबु धनञ्जय कामीले बताए । ‘रातिमा २० जनाजतिको समूह आएको थियो । जैरगाउँका सबै छिमेकीका घरमा ताला लगाएर मेरो घरमा आक्रमण गरे । ढोका, झ्याल र छतका दाँतीहरू भत्काएर भित्र छिरे । हामीलाई नबोल्न धम्की दिँदै छोरालाई निर्घात कुटे । छोरा–बुहारीलाई नै घरबाट लिएर गए । कुट्दै घरबाट लगेको छोरा कहाँ, कुन अवस्थामा छ अत्तोपत्तो छैन,’ धनञ्जयले गुनासो गरे ।

    घटनाको भोलिपल्टै बिहीबार (१ पुस)मा प्रहरीमा जानकारी गराएको उनले बताए । जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माका अनुसार घरबाट चन्द्रसँगै उठाएर लगिएकी सुन्तली भने माइतीगाउँमै भेटिएकी छिन । चन्द्रको अवस्था भने अज्ञात रहेको उनले बताए । ‘युवती गाउँमै भेटिएकी छिन्, तर युवकको अझै पत्तो लागेको छैन,’ शर्माले भने, ‘खोजी तीव्र पारिएको छ ।’

    युवतीका बुबा प्रहरी नियन्त्रणमा

    प्रहरीले युवतीका बुबालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । जिप्रकाबाट डिएसपी शर्माकै नेतृत्वमा पाँचजना प्रहरी चन्द्रको खोजीमा खटिएका छन। त्यस्तै, तुम्च, गल्फागाड, श्रीनगर र सर्केगाड चौकीबाट सम्भावित ठाउँहरूमा खोजी गर्न प्रहरी परिचालन गरिएको छ ।

    ‘युवक हालसम्म सम्पर्कमा आउन सकेका छैनन । तर, केटीको बुबालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । एक–दुई दिनमै केटाको अवस्था पत्ता लाग्ला,’ डिएसपी शर्माले भने ।धनञ्जयले भने प्रहरीलाई खबर गरेको ६ दिन बितिसक्दा पनि छोराबारे कुनै खबर प्राप्त नहुँदा तनाव बढेको बताए । दोषीलाई पक्राउ गरेर कारबाही गरी छोरा–बुहारीलाई न्याय दिलाउन उनले प्रहरीसँग आग्रह गरेका छन ।

    प्रतिक्रिया दिनुहोस