आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  राजनीति

के गर्दैछन् संसद छिर्न नसकेका साना दल ?

  • रारा रैबार
  • २०७४ चैत्र १९, सोमबार मा प्रकाशित
  • १०१८ पटक पढिएको
  • काठमाडौं, चैत १९ – थ्रेसहोल्डका कारण धेरै साना दल यसपाली संसद र सरकारबाट बाहिर छन् । चुनाव जिते पनि केही दलका सांसद स्वतन्त्रको हैसियतमा मात्र संसदमा छन् । संसद र सरकारमा खासै प्रभावकारी भूमिका देखाउन नसक्ने अवस्थामा खुम्चिएका साना दलहरु के गर्दैछन् त ?
    अर्थमन्त्री बन्दा चर्चा बटुलेका डा.बाबुराम भट्टराई पार्टीलाई सुदृढ पार्न भन्दै कहिले तराई त कहिले पहाड पुगेर कार्यक्रम गर्न व्यस्त हुनुहुन्छ । प्रदेशस्तरीय बैठक तथा भेलामा समेत व्यस्त बनेका भट्टराइले केही दिनअघि मात्रै पार्टीको काठमाडौं संयोजकमा छोरी मानुषीलाई चयन गर्नुभयो ।  
    पार्टीलाई संगठित बनाएर देशैभर फैलाउन भन्दै भट्टराई अहिले देश दौडाहामा हुनुहुन्छ । 
    स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा तीनै तहको चुनावमा सामाजिक सञ्जालमा चर्चा बटुलेको विवेकशील साझा पार्टी पनि अहिले विभिन्न प्रदेशमा संगठन विस्तारको कार्यक्रम लिएर पुगिरहेको छ । 
    प्रदेशस्तरीय संयोजक चयन गर्दै विवेकशील साझाले पार्टीका कार्यक्रमलाई तल्लो स्तरसम्मै पुर्‍याउने गरी कार्यक्रम गरिरहेको पार्टी नेतृ रञ्जु दर्शनाले जानकारी दिनुभयो । 
    पञ्चायतदेखि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र सम्मका संसदीय खेलमा चतुर खेलाडी मानिने कमल थापाको पार्टी राप्रपाले भने खासै गतिविधि गरेको छैन । 
    नेपाल मजदुर किसान पार्टी भक्तपुरमै सीमित छ । बाहिरी जिल्लामा उसका गतिविधि शून्य जस्तै छन् । यस्तै अर्को दल राष्ट्रिय जनमोर्चा र नेकपा मालेले पनि चुनावपछि अहिलेसम्म पार्टीका कुनै कार्यक्रम गर्न सकेको छैन ।  

    को-को छिरे संसदमा ?

    थ्रेसहोल्डका कारण यी दलहरु राष्ट्रिय दलको रुपमा संसद छिर्नबाट वञ्चित भए । तथापि केही दलबाट जितेका सांसद भने स्वतन्त्रको हैसियतमा संसद भवन छिरेका छन् । दलको उम्मेदवारको रुपमा चुनाव जिते पनि संसदमा भने उनीहरुको भूमिका स्वतन्त्रको हैसियतमा रहेको छ । 
    नयाँ शक्ति पार्टीबाट यसका संयोजक डा.बाबुराम भट्टराई, राप्रपाबाट राजेन्द्र लिङ्देन, मजदुर किसान पार्टीबाट प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाबाट केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधिसभामा निर्वाचित हुँदै संसद भवन छिरेका हुन् । 
    विवेकशील साझा पार्टीले भने प्रतिनिधिसभा चुनावमा एक सिट पनि जित्न सकेन । उसले प्रदेशसभामा भने समानुपातिक मतमार्फत आफ्ना प्रतिनिधि छान्ने मौका पायो । विवकेशील साझाबाट प्रदेश नम्बर तीनमा तीन जना सांसद रहेका छन् ।  
    राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तिमा पनि १ सिट र समानुपातिकतर्फ कूल मतको ३ प्रतिशत मत कटाउनै पर्ने बाध्यता थियो । प्रदेशसभातर्फ भने १.५ प्रतिशत थ्रेस होल्ड राखिएको थियो । 

    कस्ता सुविधाबाट वञ्चित भए साना दल ?  

    संसदमा राष्ट्रिय दलको मान्यता पाएको भए यी दलले पनि संसदीय दलको कार्यालय प्राप्त गर्थे । त्यस्तै हैसियत अनुसार दलको नेता र प्रमुख सचेतक तथा सचेतक बन्न र बनाउने पाउँथे । त्यसै अनुरुप संसद् सचिवालयबाट सेवा सुविधा प्राप्त हुन्थ्यो । 
    अहिले यस्तो सुविधा एमाले, कांग्रेस, माओवादी, संघीय समाजवादी फोरम र राजपा सहित ५ दलले मात्रै प्राप्त गरेका छन् ।   
    थ्रेसहोल्ड पार गरेर राष्ट्रिय मान्यता प्राप्त नगरेका कारण उनीहरु दलीय सुविधा लिनबाट बञ्चित बनेका हुन् । उनीहरुले एउटा सांसदले प्राप्त गर्ने सुविधा मात्र उपभोग गर्छन् । उनीहरुले संसदमा समेत दलीय प्रतिनिधित्व गर्दै आफ्नो धारण राख्न पाउँदैनन् । स्वतन्त्र धारणा भनेर राख्नुपर्ने बाध्यता छ ।

    किन हुँदैनन् एक ? 

    डा.बाबुराम भट्टराई, कमल थापा, चित्रबहादुर केसी, नारायणमान विजुक्छे जस्ता प्रभावशाली नेताहरुले चलाएका पार्टी अहिले छुट्टाछुट्टै गतिविधि गर्दै हिँडिरहेका छन् । 
    लामो समय पत्रकारितामा विताएका रवीन्द्र मिश्र संयोजक रहेको विवेकशील साझा पनि आफ्नै ढंगले अगाडि बढिरहेको छ । राजनीतिमा उहाँको यो पहिलो अनुभव हो । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेद्वार बनेका मिश्र पराजित हुनुभएको थियो ।
    थ्रेसहोल्डका कारण संसद छिर्न नसकेका यी साना दल अबको पाँच वर्षपछि हुने चुनावबाट भने जसरी पनि राष्ट्रिय दलको रुपमा सांसद छिर्ने बताउँदै आएका छन् । तर मिलेर अघि बढ्नुको सट्टा सबै आआफ्नै डम्फु बजाउँदै हिँड्न थालेकाले पाँच वर्षपछि हुने चुनावमा पनि यी दलहरु राष्ट्रिय दलको रुपमा संसद छिर्छन् भन्नेमा आशंका छ । 
    नयाँ शक्ति र विवेकशील साझा पार्टीप्रति धेरैले अपेक्षा राखेका थिए । तर अपेक्षा अनुसार काम गर्न नसकेको पार्टीकै कार्यकर्ताहरु बताउँछन् । विवेकशील साझाका बारा संयोजक समेत रहेका अर्पणराज घिमिरेले पार्टीप्रति व्यङ्ग्य गर्दै ‘अबको आशा, कोरियन भाषा’ भन्ने स्टाटस लेखेर फेसबुकमा पोस्ट नै गरेका थिए । पराजित भएपनि आ–आफ्नै स्वार्थ बोकेर हिँडेकाले यी दलबीच एक भएर अघि बढ्ने सम्भावना न्यून देखिएको छ ।  
    Source:http://ujyaaloonline.com/news/96418/small-parties-role-and-activities/

    प्रतिक्रिया दिनुहोस