आज: २०८१ बैशाख १९, बुधबार
ePaper
होमपेज /  Breaking News

माधव नेपाल पनि पार्टी एकता दौडमा

  • रारा रैबार
  • २०७८ पौष १३, मंगलबार मा प्रकाशित
  • ४४६ पटक पढिएको
  • काठमाडौं : निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन् ।

    आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू राजनीतिक कार्यक्रम गर्नेदेखि पार्टी एकतामा लाग्न थालेका छन् ।

    आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रका अधिकांश वक्ताहरूले दलहरूबीचको सहकार्य र एकताको आवश्यकता औँल्याउँदै वामपन्थी पार्टीका नेताहरूले पार्टी एकतामा जोड दिएका थिए । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेकपाको विघटनको दोष एकअर्कालाई लगाउने प्रयास गरेका नेताहरूले अन्ततः पार्टी विभाजनको आत्मसमीक्षा गर्दै पार्टी एकतामा जोड दिए ।

    यसको तेस्रो दिन मंगलबार माधवकुमार नेपाल नेतृत्वको नेकपा ( एकीकृत समाजवादी ) र नेकपा ( जनवादी ) बीच पार्टी एकीकरण हुँदै छ । राष्ट्रिय सभागृहमा मंगलबार मध्यान्ह साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम राखिएको छ । सोही कार्यक्रममार्फत पार्टी एकता घोषणा गर्न लागिएको हो ।

    साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वोच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए । आन्तरिक किचलोका कारण अन्ततः एमाले विभाजन भएर नेता नेपालले नेकपा ( एकीकृत समाजवादी ) पार्टी गठन गरेका थिए । एकीकृत समाजवादीलाई ९ भदौमा निर्वाचन आयोगले दलको मान्यता दिएको थियो ।

    नयाँ दल दर्ता गरेको पाँच महिनापछि नेपाल वामपन्थी पार्टीबीच एकता अभियानमा लागेका छन् । केही दिनअघि उनले १३ पुसमा विभिन्न दलबीच एकता हुने घोषणाा गरेका थिए । एमालेले चुनावलाई लक्षित गर्दै विभिन्न दलका नेतालाई पार्टी प्रवेश गराउने अभियानलाई तीव्रता दिएको छ ।

    प्रतिक्रिया दिनुहोस