४७ खर्बको पूर्व–पश्चिम रेलमार्ग : कसरी बन्दैछ, कति समय लाग्छ ?
रारा रैबार२०७४ चैत्र १४, बुधबार मा प्रकाशित५२९ पटक पढिएको शम्भु दंगाल, काठमाडाैं चैत्र १४
वाम गठबन्धनले चुनाव अगाडि बनाएको घोषणापत्रमा आधुनिक प्रविधिसहित सडक, रेल, विमानस्थल, नहरलगायतका ठूला भौतिक पूर्वाधारहरूको तीव्र विकास गरिने उल्लेख छ । आगामी पाँच वर्षमा पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिने घोषणापत्रमा दाबी छ । यसै अवधिमा रसुवागढी–काठमाडांै–पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिने पनि बताइएको छ ।
आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिको रेल सञ्चालन गर्ने वाम घोषणापत्रको परिकल्पना छ । काठमाडौं र वीरगञ्जलाई जोड्ने रेलमार्ग निर्माण कार्य अघि बढाइने पनि घोषणापत्रमा छ । काठमाडौंलगायत अन्य मुख्य सहरहरूमा सम्भाव्यता हेरी मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणपत्रको मुद्दा छ ।
राजधानी काठमाडौंलाई छिमेकी मुलुकका रेलमार्ग सञ्जालसँग तथा राजधानीलाई सबै प्रादेशिक केन्द्रहरूसँग द्रुतमार्गहरूद्वारा जोडिने परिकल्पना वामगठबन्धनको घोषणामा छ । पर्यटक सेवाका लागि विभिन्न महत्वपूर्ण पर्यटकीय स्थानमा केबुलकार र मोनोरेल सञ्चालन गर्ने परिकल्पना पनि घोषणा पत्रमा छ ।
यी प्रतिबद्धता चुनाव अगाडिका हुन् । वाम गठबन्धनको प्रतिबद्धता चुनावबाट अनुमोदन भएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वमा वाम गठबन्धनको सरकार पनि बनेको छ । यस्तोमा अब घोषणापत्रमा राखिएका कामहरू कसरी अगाडि बढ्छन् ? आम चासोको विषय हुने नै भयो ।
रातोपाटी संवाददाता शम्भु दङ्गालले नेपालमा थरीथरीका रेलको हल्ला र यसको वास्तविकता जान्ने प्रयास गरेका छन् ।
‘नेपालको रेल सपना’ शृङ्खलाको पहिलो अङ्कमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको अवस्था के छ भन्ने बुझाउन खोजेका छौँ ।
रेलमार्गको रियालिटी
करिब ५ घण्टामा पूर्वको झापाबाट सुदूरपश्चिमको महेन्द्रनगर र त्यति नै समयमा महेन्द्रनगरबाट झापा पुग्ने अनुमान गरिएको मेचीकाली विद्युतीय रेलमार्गको काम अघि बढेको छ ।
काठमाडौंमा रहेको रेल विभागका अनुसार यतिबेला सिमाराको निजगढदेखि बर्दिबाससम्मको खण्डमा रेलमार्ग निर्माणको काम भइरहेको छ ।
बर्दिबासदेखि लालबन्दीसम्मको सिभिल इन्जिनियरिङको काम सम्पन्न भएको छ भने उक्त क्षेत्रमा रहेका केही पुलहरू निर्माणका लागि ठेक्का व्यवस्थापनको काम भइरहेको छ ।
प्रारम्भमा पूर्वपश्चिम विद्युतीय रेलमार्गको परियोजना नेपालकै आर्थिक स्रोतमा निर्माण भइरहेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।
उनले भने– ‘हामी पनि रेल बनाउन सक्छौँ भनेर देखाउनका लागि पनि हामी नेपाली प्राविधिकले यो काम गरिरहेका छौँ । यसको डिजाइन कोरियन कम्पनीका प्राविधिकले गरे पनि निर्माणकार्य भने नेपाल आफैले गरिरहेको छ ।’
९ सय ४५ किलोमिटर दूरीको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग २ सय किलोमिटर प्रतिघण्टाको दरले रेल कुद्ने गरी डिजाइन भइरहेको रेल विभागले जनाएको छ ।यो सिङ्गल ट्र्याक हुनेछ ।
त्यसकारण १४ देखि १५ किलोमिटरको दूरीमा पासिङ स्टेसन राखिनेछ ।
रेल निर्माणका लागि प्रतिकिलोमिटर ५० करोड खर्च लाग्ने सूचना अधिकारी उपाध्यायले बताए ।
उनले कुनै अवरोधबिना द्रुत गतिमा काम अघि बढ्यो भने १० वर्षभित्रमा योजना सम्पन्न गर्न सकिने उल्लेख गरे ।
राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको मेचीकाली विद्युतीय रेलमार्गको अध्ययन र निर्माण सँगसँगै भइरहेको हो ।
बुटवलभन्दा पूर्वको अध्ययन समाप्त भइसकेको छ भने निजगढदेखि भरतपुरसम्मको खण्डमा चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज परेको हुँदा उक्त स्थानबारे पुनरावलोकन गर्न वन विभागले अनुरोध गरेपछि निजगढबाट हेटौँडा हुँदै भरतपुरतिर आउने बारेमा सम्भाव्यता अध्ययन भएको छ ।
उक्त क्षेत्रको डीपीआर तयार गर्न बाँकी छ । अन्य खण्ड बुटवल पूर्वको भने सम्पन्न भइसकेको छ ।
बुटवल पश्चिमतर्फ भने अध्ययन कार्य भइरहेको छ । आगामी असोज–कात्तिकसम्ममा प्रतिवेदन आउने गरी काम भइरहेको छ ।त्यस स्थानको प्रतिवेदन आएपछि पूर्व–पश्चिम रेल मार्ग निर्माणको प्रारम्भिक अध्ययन सम्पन्न हुन्छ ।
विभागका सूचना अधिकारी उपाध्यायले भने– ‘कुनै पनि कामको सुरु गर्न कठिन हुन्छ तर सुरु भएपछि त्यसलाई अगाडि बढाउन सजिलो हुन्छ । रेल विभाग गठन भएको यतिका वर्ष भइसक्यो, काम भएन भनेर आलोचना पनि गर्छन् तर सबै पक्रिया मिलाएर अगाडि बढ्दा केही ढिला हुन्छ । जस्तो वनसँग स्वीकृति लिनुपर्यो, मुआब्जा निर्धारण गर्ने अर्को चरण हुन्छ, ठेक्का व्यवस्थापन गर्ने एउटा चरण हुन्छ, काम सञ्चालन गर्ने अर्को चरण हुन्छ । प्राविधिक जनशक्तिको व्यवस्था गर्नुपर्यो । यी प्रक्रियाका कारण प्रारम्भमा केही ढिलो भए पनि पछि गएर छिटो हुन्छ ।’
हालसम्म २५ किलोमिटरको सिभिल इन्जिनियरिङ कार्य भइसकेको छ । यो भनेको लिकभन्दा तलको सतहको काम हो । यो खण्डमा तुँदी सन्तोषी कन्स्ट्रसन, गजुरमुखी कन्र्सट्रक्सन, हिन्दुम्यान थोकर कन्स्ट्रसन, गोल्डेन गुड कन्स्ट्रसन, दिवा कन्स्ट्रक्सन लागयतका नेपाली निमार्ण व्यवसायीले ठेक्कामा काम गरिरहेका छन् ।
नेपालको ३ करोड जनसङ्ख्यामध्येमा ५० प्रतिशत हाराहारी रेल गुड्ने क्षेत्रमा बसोबास गर्दछन् । यो रेलमार्गले डेढ करोड जनसङ्ख्यालाई सेवा पुर्याउँछ भने पहाडबाट तराई झरेकाहरूलाई पनि सेवा पुर्याउँछ ।
दूरीका हिसाबले ९ सय ४५ किलोमिटर सामान्यतया पाँच वर्षमा निर्माण सम्पन्न गर्न सकिने भए पनि ठूला ठूला नदीहरू कर्णाली, नारायणी कोशीका कारण समय लम्बिने भएको हो ।
यी नदीमा पुल बनाउन समय लाग्ने भएकाले आयोजनाको कामपछि धकेलिने भएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए । १० वर्षमा पूर्ण निर्माण सम्पन्न गर्नका लागि प्रतिवर्ष झन्डै १ सय किलोमिटर निमार्ण हुनुपर्ने हुन्छ ।
यद्यपि विभन्नि खण्ड खण्डमा निर्माण सम्पन्न गरेपछि रेलगाडी छोटो दूरीका रूपमा सञ्चालन गर्न भने सकिनेछ ।
भारतसँग पाँच कनेक्सन
मेचीकाली विद्युतीय रेलमार्ग भारतसँग पाँच स्थानमा जोडिनेछ । क्रस कन्ट्री कनेक्टिभिटी बनाउनुपर्ने एडीबी, बिम्स्टेक, वल्र्ड बैङ्क लगायतको अन्तर्राष्ट्रिय संस्थाहरूको अनुरोधका आधारमा पूर्वपश्चिम रेलमार्ग जोड्न भारतले पाँचवटा लिक बनाउने भएको हो ।
जलपाइगुढीबाट काँकडभिट्टा, बकनाहबाट विराटनगर, जयनगरबाट बर्दिबास, नौतनियाबाट भैरहवा र रूपैडियाबाट नेपालगञ्ज गरी पाँच ठाउँमा लिक निमार्ण गरिदिने बताएको हो ।
यीमध्ये जनकपुर–जयनगर–बर्दिबास निर्माण भइरहेको छ । यस्तै बकनाहबाट विराटनगर पनि निर्माण भइरहेको छ । यी पाँचवटा कनेक्सन भारतकै प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण हुनेछन् । भारतले बनाउनेबारेमा सहमतिसमेत भइसकेको छ ।
यस्तै महेन्द्रनगरबाट पारी जाने रेल कनेक्सनका लागि भारतसँग कूटनीतिक पहल गर्नुपर्ने उपाध्यायले बताए ।
रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश भक्त उपाध्यायले मेची काली रेलमार्ग निमार्णमा मुख्य ४ वटा समस्या देखेका छन् ।पहिलो र मुख्य समस्या भनेको बजेट हो । पर्याप्त बजेट नहुँदा काम सोचेअनुसार अगाडि बढ्न सकेको छैन । यसपछि आवश्यक प्राविधिक जनशक्ति आपूर्तिमा समस्या रहेको छ ।
देशको झन्डै आधा जनसङ्ख्या लाभान्वित
मेचीकाली विद्युतीय रेलमार्ग निर्माण सम्पन्न भएमा देशका आधा जनसङ्ख्या लाभान्वित हुने भएका छन् ।
नेपालको ३ करोड जनसङ्ख्यामध्येमा ५० प्रतिशत हाराहारी रेल गुड्ने क्षेत्रमा बसोबास गर्दछन् । यो रेलमार्गले डेढ करोड जनसङ्ख्यालाई सेवा पुर्याउँछ भने पहाडबाट तराई झरेकाहरूलाई पनि सेवा पुर्याउँछ ।
विद्युतले चल्ने रेलका लागि धेरै विद्युत पनि नचाहिने हुन्छ । ३० मेगावाटको डेडिकेटेट विद्युत स्टेसन भयो भने पूर्वपश्चिम रेल आरामसँग चल्ने उपाध्यायले जानकारी दिए ।
उनले भने– ‘रेल स्टार्ट भएर गुड्ने बेला धेरै विद्युत चाहिए पनि गुडेपछि भने धेरै विद्युत नचाहिने हुन्छ । थोरै विद्युतमा पनि यसलाई सञ्चालन गर्न सकिन्छ ।’
समस्याका चाङ
रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश भक्त उपाध्यायले मेची काली रेलमार्ग निमार्णमा मुख्य ४ वटा समस्या देखेका छन् ।
पहिलो र मुख्य समस्या भनेको बजेट हो । पर्याप्त बजेट नहुँदा काम सोचेअनुसार अगाडि बढ्न सकेको छैन ।
यसपछि आवश्यक प्राविधिक जनशक्ति आपूर्तिमा समस्या रहेको छ । अहिले सिभिल इन्जिनियरले काम गरिरहे पनि स्लिपर र रेल बिछ्याउनका लागि रेल्वे इन्जिनियरहरूको आवश्यक पर्ने हुन्छ ।
अर्को पक्ष भनेको अन्तरसम्बन्धित सरकारी निकायहरूबीच नै समन्वयको अभाव छ । मुआब्जा र वन फँडानीका कामलाई स्थानीयसँग, स्थानीय सरकारसँग, वनमन्त्रालयसँग राम्रो समन्वय हुन सकेको छैन् ।
निर्माण सामग्रीको पनि समस्या छ । नदीजन्य सामग्रीको उत्खनन् र स्थानीय नदीमा निर्माण सामग्रीको उत्खनन्मा समस्या रहेको छ ।
अहिले जनशक्तिका रूपमा सिभिल इन्जिनियरिङमा महानिर्देशक अनन्त आर्चाय, सिनियर डिभिजनल इन्जिनियर प्रकाश भक्त उपाध्याय दुई जना इन्जिनियर, सीडीई र मेकानिकल इन्जिनियर २ जना मात्र रहेका छन् ।
यी जनशक्तिले अहिले लालबन्दी बर्दिबास क्षेत्रको काम हेरिरहेका छन् ।
रेलगाडीका लागि विदेशमा अडर
रेलमार्ग निर्माणपछि रेलगाडी गुडाउनका लागि विदेशी निर्माण कम्पनीलाई निर्माण गर्न अर्डर दिनुपर्ने उपाध्यायले बताए । अर्डर दिएको एकदेखि डेढ वर्षभित्र मात्र रेलगाडि तयार हुनेछ । यसका लागि केही समय लाग्ने उनले बताए ।
जनकपुर जयनगरमा डिजेलबाट रेल चल्ने भए पनि पूर्व पश्चिम रेलमार्गमा विद्युतबाट सञ्चालन हुने रेलगाडी गुड्नेछ । अहिले प्रारम्भिक काम सुरु मात्र भएकोले पछि विद्युत प्राधिकरणसँग पनि सहकार्य गरिने उनको भनाइ छ ।
source:http://ratopati.com/story/38658
प्रतिक्रिया दिनुहोस