२१ चैत, काठमाडौं । के हाम्रा बालबालिकाहरुमा कलिलै उमेरमा यौनिक परिपक्वता वा यौन–आशक्ति देखिन थालेको हो ? यदि यस्तो अवस्था आएकै हो भने यसको कारण र समाधान के होला ?
हुन त कतिपय घटनाहरुलाई मात्रै लिएर सामान्यीकरण गर्न नसकिएला । तर, नेपाली बालबालिकाहरुमा देखिएका केही अनौठा परिवर्तन एवं समस्याबारे केही दुःखद् प्रशंगहरु यस्ता छन्ः
प्रसंग–१
जिप्रका चितवनमा १० वर्षीया बालिकालाई जबरजस्ती ‘करणी’ गरेको उजुरी पर्यो । चितवन खैरहनी नगरपालिकाकी उक्त बालिकालाई जबरजस्ती यौनकृत्य गर्नेमा दुई बालकहरु थिए । उनीहरुको उमेर १० वर्षभन्दा कम थियो ।
बालिका घरमा एक्लै सुतिरहेकी थिइन् । दुई बालक आए । एकले घाँटी समाए, अर्कोले जबरजस्ती यौनकृत्य गरे । गएको चैत्र ११ भएको घटना पीडितकी आमाले छोरीको यौनाङ्ग असामान्य देखेपछि घटनाको खुलासा भयो ।
प्रसंग–२
घटना रोल्पाको सदारमुकाम लिवाङको हो । स्थानीय निजी विद्यालयमा एलकेजीमा पढ्ने बालिकामाथि जबरजस्ती यौनजन्य दुर्व्यवहार भयो । यसरी ‘जबरजस्ती गर्ने’ चाहि चार कक्षाका बालक रहेछन् । बालकको उमेर १३ बर्ष, पीडित बालिकाको उमेर ६ बर्ष ।
खेल्नका लागि घर बाहिर गएकी बालिकालाई अँध्यारो हुने बेला बालकले फकाईफुल्याई जबरजस्ती यौनजन्य व्यवहार गरेको प्रहरी रिपोर्टमा उल्लेख छ । बालिकाले आफूमाथि भएको दुव्र्यवहार हजुरआमालाई बताएकी थिइन् ।
प्रसंग– ३
राजविराजमा सात वर्षीया बालिकालाई तीनजना बालक मिलेर सामूहिक ‘बलात्कार’ गरे । बाख्रा चलाउन गएकी सप्तरी बनैनियाँकी बालिकालाई स्थानीय तीनजना बालकले सामूहिक बलात्कार गरे ।
प्रसंग–४
सुनसरी, राजगञ्ज शिनुवारीकी ६ वर्षीया बालिका बलात्कृत भइन् । सोही ठाउँका १३ वर्षीय बालकले उनलाई बलात्कार गरेका थिए । घरमा कोही नभएको मौका छोपेर बालकले बालिकालाई बलात्कार गरेको भन्दै स्थानीय प्रहरीमा उजुरी पर्यो ।
अभिभावकलाई खतराको घण्टी
उल्लेखित घटना आफैँमा ‘लाजमर्दो’ मात्र छैनन्, डरलाग्दो पनि छ । डरलाग्दो यसकारण कि बालबालिकाहरु बालबालिकाबाटै असुरक्षित छन् । त्यो पनि यौनजन्य असुरक्षा । हरेक अभिभावकका निम्ति यो खतराको घण्टी हो ।
बालबालिकामा अहिले जुन किसिमको यौन–प्रवृत्ति देखिएको छ, त्यसले मूलतः दुई कुरामा ‘हाई अलर्ट’ जारी गरेको छ । एक, बालिकाहरु आफ्नै दौंतरीबाट असुरक्षित छन् । दुई, बालबालिका यौनजन्य कृत्यमा नजानिँदो ढंगले उक्सिइरहेका छन् ।
हरेक अभिभावकका लागि ‘टाउको दुखाइको’ विषय बन्दैछ, यो । किनभने अभिभावकले हर क्षण बच्चालाई आफ्नो निगरानीमा राख्न सक्दैनन् । बच्चाले धेरैजसो समय विद्यालयमा बिताउँछन् । त्यसपछि आफ्नै सहपाठी एवं दौतरीसँग खेल्न, पढ्नमा बिताउँछन् । बालबालिकाहरु आपसमा घुलमिल हुन्छन् नै । यस्तो अवस्थामा आफ्ना बच्चाहरु असुरक्षित हुने भय उत्तिकै रहन्छ ।
दोहोरो जटिलता
अर्कोतिर समस्या के पनि छ भने, अहिले धेरैजसो अभिभावकले एकल सन्तान हुर्काइरहेका छन् । कुनैबेला ‘जति थोरै सन्तान उत्ति सुखी’ भन्ने मान्यताबाट गुज्रिएका दम्पतीलाई अहिले एकल सन्तान थप जटिलता बन्दैछ । परिवारमा एक्लै हुर्किएका बच्चामा ‘प्रवृत्तिजन्य’ समस्या देखा परेको छ ।
त्यसैले एक्लै हुर्किएका बच्चालाई उनका सहपाठी/समवयी/दौतरीसँग खेल्न, रमाउन दिनुपर्ने परामर्शदाताहरुको भनाइ छ । एकातिर बच्चालाई उनका समवयीसँग घुलमिल हुन दिनैपर्ने आवश्यकता छ भने, अर्कोतिर तिनै दौंतरीबाट उनीहरुमा असुरक्षाको भय पनि छ ।
बालबालिकाको स्वास्थ्य र मनोविज्ञानका क्षेत्रमा काम गरिरहेकी सुरक्षा सुवेदी भन्छिन्, ‘अहिलेका बच्चालाई कसरी सुरक्षा दिने भन्ने समस्या एकातिर छ भने अर्कोतिर कसरी उनीहरुलाई सामाजिक जीवनमा अभ्यस्त गराउने भन्ने पनि छ ।’
दुवै कुरालाई सन्तुलनमा मिलाएर लान अभिभावको निम्ति चुनौती बनेको उनको भनाइ छ ।
बालबालिकालाई साथीसँग घुलमिल गराउनैपर्ने अवस्था छ । साथसाथै तिनै साथीबाट सुरक्षित राख्नुपर्ने बाध्यता पनि । बालबालिकाहरु खेल्दाखेल्दै यौनजन्य कृत्य गर्न पुग्ने गरेको पाइएको छ । कतिपय अवस्थामा एक्ला/दुक्ला बालिकामाथि जबरजस्ती यौनकृत्य भएको छ ।
लहडमा होइन, नियोजित
विभिन्न घटना केलाउँदा बालबालिकाले लहडमा वा ठूलाको सिको गरेर मात्र यौनजन्य कृत्य गरेको पाइँदैन । उनीहरु नियोजित ढंगले यौनजन्य कृत्य गर्न उक्सिएका छन् ।
गुल्मीस्थित एक १४ वर्षीय बालकले ११ वर्षीया बालिकालाई ‘भुजा खान’ भन्दै घर नजिकै बोलाए । चिउरीको बोटमुनि लगेर १० रुपैयाँको प्रलोभन देखाए । र, यौनजन्य कृत्य गरे । रोल्पाकी ६ वर्षीया बालिका खेल्न गएका बेला १३ वर्षीय बालकले फकाईफुल्याई जबरजस्ती यौन–दुव्र्यवहार गरे ।
बच्चाहरुले लहडमा भन्दा पनि नियोजितरुपमै यस्ता दुव्र्यवहार गरिरहेको पाइन्छ । जबकि उनीहरुलाई यस्तो काम आफैंमा घृणित र दण्डित हो भन्ने थाहा नभएको नहुन सक्छ ।
बालबालिका किन यौनमा अराजक ?
अब प्रश्न उठ्छ, किन बालबालिकाहरु यौनमा यति अराजक हुँदैछन् ?
एउटा वाक्यमा यसको जवाफ दिन सकिँदैन । यो प्रश्नको जवाफ दिनका लागि अर्को प्रश्न उठाउनुपर्ने हुन्छ, बालबालिकामा यस किसिमको प्रवृत्ति विगतमा पनि थियो ?
किनभने हिजोका दिनमा आज जस्तो सामाजिक सञ्जाल थिएन । मिडियाको पहुँच सबैतिर थिएन । त्यही कारण भित्रभित्रै घट्ने यस्ता घटनाहरु सतहमा नदेखिन सक्थ्यो । तर, यो अनुमान मात्र हो । विभिन्न अध्ययनहरुले के देखाएको छ भने बालबालिकामा बढ्दो ‘यौन–बिकार’ वर्तमान समय र परिस्थितीकै उपज हो ।
बालबालिकाहरु जुन ढंगले यौनमा अराजक हुँदै गइरहेका छन्, त्यसको दोष उनीहरुलाई मात्र दिएर उम्कन नमिल्ने मनोविज्ञहरुको तर्क छ । यसमा विविध कुराले भूमिका खेलेको छ ।
सेक्सुअल म्याचुरिटी
बलात्कारको घटनामा युवा तथा वयस्क मात्र होइन, बालबालिका समेत मुछिनु निकै उदेकलाग्दो छ । नेपालमा मात्र होइन, छिमेकी भारत लगायत विश्वभर नै यो समस्या देखिन थालिएको छ ।
भारतमा स्कुल लेभलका छात्रले आफ्नै शिक्षिकालाई प्रेम÷यौनको प्रस्ताव गरेको घटना अझै सेलाएको छैन । बीबीसी हिन्दीको रिपोर्ट अनुसार १२ बर्षीय एक बालकले आफ्नै शिक्षिकालाई स्कुलको पुस्तकालयमा डिनर भोज र यौनको प्रस्ताव गरेका थिए ।
यौन मनोविज्ञहरुका अनुसार अहिले विश्वव्यापीरुपमै बच्चाहरुमा यौनिक परिपक्वता बढ्दै गएको पाइन्छ । उनीहरु शारीरिकरुपमै यौनमा परिपक्व हुँदै गएका छन् ।
१२/१३ बर्षको उमेरमा पुगेपछि मात्र हुने मासिक स्राव आठ बर्षको बच्चालाई हुन थालेको छ । बालकहरुमा पनि यस किसिमको हर्मोनल परिवर्तन आएको छ ।
स्तनको विकास, मासिक श्राव, यौनाङमा रौं उम्रिने क्रम स्वभाविकभन्दा कम उमेरमै हुन थालेको विभिन्न अध्ययनले देखाएको छ ।
सन् २०१२ मा अमेरिकन एकेडेमी अफ पीडियाट्रिक्स डिपार्टमेन्टको शोध अनुसार केटामा यौवनावस्थाको उमेर ६ देखि दुई बर्षअघि नै भएको देखिएको छ । यो शोध अमेरिकामा ४ हजार १ सय केटाहरुमा गरिएको थियो ।
यस्तै सोध केटीहरुमा पनि गरिएको थियो, २०१० मा । उक्त शोध अनुसार अमेरिकामा केटीहरु ७ बर्षको उमेरमै यौन परिपक्व भइसकेको पाइयो ।
विद्युतीय उपकरणदेखि विषाक्त खानपानसम्मको असर
यस किसिमको परिवर्तन वा हर्मोनल असन्तुलन हुनुको कारण विश्वव्यापी बढ्दै गएको ग्लोबल वार्मिङदेखि विद्युतीय उपकरणको प्रयोगबाट उत्सर्जन हुने विकिरणले यसमा भूमिका खेलेको बताइन्छ ।
चाइल्ड हेल्थ नर्सिङ अध्ययन गरेकी सुरक्षा सुवेदी भन्छिन्, ‘अहिले धेरैजसो बच्चाहरु मोवाइल, ट्याब, ल्यापटप, टीभीको सोझो सम्पर्कमा छन् । त्यसको विकिरणले उनीहरुको हर्मोनल विकासमा प्रभाव पारेको छ । साथै ग्लोबल वार्मिङ, खानपानले पनि यसमा असर गरेको छ ।’
अहिले बच्चाहरुको खानपानले समेत यौनिक परिपक्वता ल्याउनमा भूमिका खेलेको पोषणविदहरुको बुझाइ छ । पोषणविद् अतुल उपाध्ययका अनुसार अहिलेको खानामा विषादिको प्रयोग, एन्टिबायोटिक्सको प्रयोग अधिक हुने भएकाले त्यसले शरीरमा हर्मोनल गडबडी ल्याएको छ ।
बोइलर कुखुरालाई छिटो बढ्नका लागि दिने दानापानीमा प्रयोग गरिने एन्टिबायोटिक्स लगायतका तत्व त्यही कुखुराको मासुको माध्यामबाट बालबालिकाको शरीरमा प्रवेश गरेको छ । सागपात, फलफूल छिटै ठूलो बनाउन, छिटो पकाउन प्रयोग गरिने औषधीहरुको सोझो असरसमेत बच्चाहरुको स्वास्थ्यमा परेको छ । यसले उनीहरुमा यौनिक परिपक्कता बढ्दै गएको बताइन्छ ।
एडल्ट सामाग्रीको पहुँच
अहिलेका बच्चाहरुले मोवाइल, ल्यापटप, टीभी आदि माध्यामबाट यौनजन्य सामाग्री सहजै हेर्न सक्छन् । सानै उमेरमा उनीहरु यौनजन्य श्रव्यदृश्य सामाग्रीमा रमाउन थालिसकेका पाइन्छन् । यस्तो किसिमको सामाग्रीले पनि उनीहरुलाई यौनजन्य कृत्य गर्न उक्साइरहेको छ ।
सामाजिक दुर्घटनाको संकेत
‘बलत्कार’ जस्ता घटनामा अक्सर युवा/वयस्कहरुको संलग्नता देखिँदै आएको परिस्थितिमा बालबालिकासमेत यस किसिमको कृत्यमा लाग्नु आफैंमा डरलाग्दो छ । यसले सामाजिक संरचनालाई नै भयानक दुर्घटनातर्फ धकेल्दै जाने सम्भावना छ । सानो उमेरदेखि नै यौनजन्य अपराधको मनोवृत्ति पलाउनु, त्यसका लागि अग्रसर हुनु निकै दुर्भाग्यपूर्ण रहेको बताइन्छ ।
कानुनले बाँध्छ ?
अर्को जटिलता के छ भने यस किसिमको मुद्दालाई न्यायोचित ढंगले किनारा लगाउन एवं सम्पादन गर्नका लागि कानुनी समस्या छ । प्रचलित कानुन अनुसार १० बर्षभन्दा कम उमेरका बालबालिकाले अपराध गरेमा खासै सजायँको व्यवस्था छैन ।
अब के गर्ने त ?
समस्या कहाँ छ भने, एकातिर बच्चाहरुमा यौनिक विकास बढ्दो छ । अर्कोतिर, त्यस अनुरुप व्यवहारिक तथा मानसिक अपरिपक्कता बढेको छैन ।
अर्थात, जुन हिसाबले उनीहरुको शरीरमा यौनिक विकास भएको छ, त्यस हिसाबले मानसिक परिपक्कता आएको छैन । यस किसिमको असन्तुलनले गर्दा उनीहरुले यौन–विकारलाई व्यवस्थापन गर्न सकिरहेका छैनन् ।
आफुमा किन यति धेरै यौन चाहना बढ्दैछ भन्ने कुरा उनीहरुले भेउ पाएका छैनन् । त्यसैले उनीहरु आफ्नो यौन–चाहना मेट्नका लागि जस्तोसुकै कृत्य गर्न पनि हतारिँदैछन् । शारीरिक रुपमा हुने यौनिक परिवर्तनलाई कसरी लिने भन्ने कुरा उनीहरुलाई थाहा छैन ।
यस किसिमको समस्याको हल कानुनमा खोज्न सकिँदैन । नैतिक आचरणको कुरा पनि बच्चाहरुमा कोरा उपदेश मात्र हुन सक्छ । त्यसैले बच्चामा जुन हिसाबले यौनिक परिपक्कता बढ्दैछ, त्यसलाई स्वभाविक प्रक्रियाका रुपमा बुझाउनका लागि अभिभावक नै अग्रसर हुनुपर्ने मनोविज्ञहरुको सुझाव छ ।
बच्चालाई सानै उमेरमा यौनका बारेमा सही र तथ्यपरक जानकारी दिनुपर्छ । उनीहरुमा हुने शारीरिक परिवर्तनका बारेमा बुझाउनुपर्छ । मासिक श्राव होस् वा प्रजनन अंगको परिवर्तन, बच्चाहरुलाई त्यसको स्वभाविक प्रक्रियाबारे खुलस्त जानकारी दिनुपर्छ ।
त्यस्तै विद्यालय स्तरमा समेत यौन शिक्षालाई जोड दिनुपर्ने बताइएको छ ।
आमाबुवाले छोराछोरीसँग मित्रवत् व्यवहार गर्ने, घुलमिल हुने, उनीहरुको मनोदशा बुझ्ने प्रयास गर्नुपर्छ ।
Source:https://www.onlinekhabar.com/2018/04/669965
प्रतिक्रिया दिनुहोस