मुगु : सदरमुकाम गमगढी नजिकै रहेका छायाँनाथ रारा नगरपालिका वडा नं २,३,५का तिन बस्ती लाई पहिलो पटक सुरक्षित खानेपानीयुक्त समुदाय घोषण गरिएको छ ।
छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर दुईको चैना तीनको देउवडा र पाँचको नाउर बस्तीका ९५ घरधुरीमा बस्ने ५ सय २७ जनाले सुरक्षित खानेपानी पाएपछि उक्त बस्तीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।
युनिसेफ, छायाँनेपाल र हिमाली ग्रामीण समाज विकास केन्द्र (हिरिसडेक) मुगुको सहजीकरण तथा आर्थिक सहयोगमा छायाँनाथ रारा नगरपालिका—२ चैना गाउँका ५४ सोही नगरपालिका–३ देउबाडाका ९ र वडा नम्बर ५ को नाउरका ३२ घरमा सञ्चालित एक घर एक धारा योजना सञ्चालन भइ उक्त योजनाबाट उपभोग गर्ने पानी सुरक्षित भएको हो ।
खानेपानी सुरक्षा समितिबाट अनुगमन प्रतिवेदन, वडा स्तरीय अनुगमन प्रतिवेदन, दीगोपनका लागि त्रिपक्षीय सम्झौता नगरपालिकाबाट तेस्रो पक्षको अनुगमन सहितको प्रतिवेदन र घोषणाका लागि नगरपालिकाको सहमति भइसकेपछि सुरक्षित खानेपानीयुक्त समुदाय घोषण गरिएको छायाँ नेपालका जिल्ला संयोजक मिनबहादुर रावलले बताए ।
गाउँमा खानेपानीको अभाव थियो। खानेपानी ल्याउन गाउँबाट आउन–जान आधा घण्टा लाग्ने गरेको थियो। अहिले गाउँमा एक घर एक धारा निमार्ण भएको छ। उक्त धाराबाट उपभोग गर्ने खानेपानी सुरक्षित छ ।
पहिला कुवा र पधेराको पानी उपभोग गर्दा समुदायमा विभिन्न खाले रोग देखा परेका थिए। अहिले एक घर धारा अन्तर्गत समुदायले उपभोग गर्ने खानेपानी सुरक्षित भएको वडापालिका, नगरपालिका र अन्य निकायबाट भएको अनुगमनले प्रमाणित गरेको छ।
पुर्खौंदेखि दुसित पानी प्रयोग गर्दै आएका सर्वसाधरणले सुरक्षित खानेपानी उपभोग गर्न पाएपछि बस्तीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषण गरिएको बताईएको छ ।गाउँमा एक घर एक धारा निर्माणपश्चात् उक्त धाराको पानीको शुद्धताका लागि धेरैपटक परीक्षण गरिएको र पानीको इन्टेक, आरबिटी लगाएत अन्य पूर्वाधार समेत सुरक्षित भएकाले सुरक्षित खानेपानी उपभोग गर्न पाएको छायाँनाथ रारा नगरपालिका—५ का गणेश रावलले बताए ।
पहिला पधेरा कुवाको पानी प्रयोग गरेका थियौं। उक्त पानी धमिलो र फोहोर हुन्थ्यो। अहिले घर आँगनमै रहेको धाराको पानी खान पाउँदा सुमदायमा खुशी छाएको स्थानीयको भनाई छ ।
प्रतिक्रिया दिनुहोस