आज: २०८१ आश्विन २२, मंगलबार
ePaper
होमपेज /  Breaking News

हुम्लामा चिसो बढेपछि खुल्ला चौरमा परीक्षा

  • रारा रैबार
  • २०७८ पौष १३, मंगलबार मा प्रकाशित
  • ९९९ पटक पढिएको
  • हुम्ला। उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा बढी विद्यार्थीलाई समस्या बनाएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुल्ला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् ।

    सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएको छ । खुला चौरका पारिलो घाममा विद्यार्थीको परीक्षा लिइरहेको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए ।

    सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा थप चिसो अत्याधिक बढेको छ । खुल्ला चौरमा परीक्षा दिइरहेको अदानचुलि गाउँपालिकास्थित सूर्योदय माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र दीपक फडेराले बताए ।

    उनले भने, ‘हिमपात भएपछि विद्यालयको कक्षा कोठाभित्र चिसोले हात कठ्याङ्ग्रिएर कलम चलाउनसमेत कठिन हुने गरेको छ, खुल्ला चौरमा परीक्षा दिन बाध्य छौँ ।’ विद्यार्थीले यसवर्ष पनि कोरोनाले पूरै समय अध्ययन गर्न नपाएको र चिसोले परीक्षा दिन सकस भइरहेको जनाएका छन् ।

    सिमकोट गाउँपालिकास्थित मानसरोवर नमूना माध्यमिक विद्यालयकी छात्रा एञ्जीला रोकायाले घाममा आएर परीक्षा दिन थालेपछि लेख्न सजिलो भइरहेको बताइन् । विद्यार्थीले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ । शिक्षक रेसमराज रोकायाले चौरमा परीक्षा सञ्चालन भइरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस