मुगु: रोग, भोग, विकटतामा आफ्नो कष्टकर जीवन बिताउँदै आएका कर्णालीवासीको जीवन नाटक र पत्रकारितामा उतार्दै सयौको पीडामा मलम लगाएका मुगु जिल्ला छायानाथ रारा नगरपालिका–१ निवासी पत्रकार सुमन मल्ल अस्ताएसँगै उनको परिवार यति बेला संकटको घडीमा छ । वृद्धा आमा र श्रीमतीलाई तीन बालबालिकाको भविष्यका बारे सोच्दै पिरोल्ने गरेको छ ।
१८ वर्ष पत्रकारिता गरेका मुगुका पत्रकार सुमन मल्लको ११ महिनाअघि अकालमा मृत्यु भएपछि परिवार संकटमा परेका हुन् । नाटकका लेखक तथा निर्देशन रहेका मल्लले कर्णालीका धेरैको दुःख लेखे तर आज उनको परिवारको दुःख देख्ने कोही छैन । ७० वर्षीय वृद्ध आमा मुघा मल्ल छोराको सम्झनामा र पिर कटाउने उद्देश्यले हरेक दिन गीतका भाकामा दुःख पोख्दै छोरालाई सम्झने गरेकी छन् ।
पत्रकार तथा नाट्यकार सुमन मल्ल एक खरो पत्रकार थिए । सामाजिक कुरीति तथा भष्टाचारविरुद्ध खरो कलम चलाउने मल्ल ४० वर्षको कलिलो उमेरमा अस्ताएको अहिले ११ महिना भयो । मल्लले लगभग १८ वर्ष पत्रकारिता तथा रंगमञ्चमा नाट्यकारको भूमिकामा रहेर काम गरे । रोग, भोग, विकटतामा आफनो कष्टकर जीवन बिताउँदै आएका कर्णालीवासीको जीवन नाटक र पत्रकारिताको माध्यमबाट सयौँको पीडामा मलम लगाएका पत्रकार, नाट्यकार तथा रंगकर्मी मल्ल अस्ताएसँगै उनको परिवारमा आर्थिक संकट आइपरेको छ ।
अहिले परिवारको अवस्था बिहान बेलुका छाक टार्न धौ धौ छ, त्यससँगै तीन छोराछोरीलाई पालन, पोषण, पठनपाठन र तिनको भविष्यका बारे सोच्नुपर्ने ७० वर्षे बुढी आमा र श्रीमतीको काँधमा छ । ७० वर्षे वृद्धा आमा माघी मल्ल भन्छिन्, ‘आराम गरेर छोराको कमाई खाने उमेरमा आज बृद्धावस्थामा नातिनातीनाको भविष्यका बारे सोच्नुपर्ने बाध्यता रहेको छ ।’ मल्लले कर्णालीको पीडालाई काठमाडौंसम्म पु¥याउन धेरै प्रयास गरेका थिए । पत्रकारिता गरेर बुझाउन नसकेको कर्णालीको दुःख मल्लले पछिल्लो समय नाटकमार्फत देखाउन थालेका थिए ।
यस अवधिमा मल्लले धेरै नाटक लेखे, निर्देशन पनि गरे । उनले लेखेका तथा निर्देशन गरेका चर्चित नाटक ‘कर्नाली दख्खिन बग्दो छ’ र ‘सुईना कर्नाली’ हुन् । यी दुई नाटकले रंगमञ्चको क्षेत्रमा ठुलै तरंग मच्चाएका पनि थिए । मल्लले कर्णालीको यथार्थ जीवनमा आधारित रहेर बनाइएको चर्चित नाटक ‘कर्नाली दख्खिन बग्दो छ’ र कर्नालीवासीलाई सपना देखाउने गरी बनाइएको अर्को चर्चित नाटक ‘सुईना कर्नाली’ नाटकमा मुख्य पात्रको भूमिका निर्वाहसमेत गरेका थिए ।
श्रीमती गंगादेवी मल्ल आँखाबाट आशु झार्दै, बिहान बेलुका खाना खानेसम्म अवस्था नाजुक छ, थाप्लोमा क्रृणको भारी छ । कसरी बालबालिकाको भविष्य बनाउने रु पत्रकार नहुनुस् बरु कतै जागिर खानुस्, नभए व्यापार गराँै भनेको थिएँ, मान्नु भएन । पत्रकारिता नै जीवन हो भन्नुहुन्थ्यो, सबैले जागिर खाए, व्यापार गरे समाजको बारेमा कसले लेख्ने भन्नुहुन्थ्यो । अहिले आपूm जानुभयो हाम्रो जीवन बिचल्ली भयो भन्दै दुःखेसो पोखिन् ।आफन्तले बालबालिका पढाइदिएका छन् ।
आफन्त नभएको भए अझ धेरै कष्ट हुने थियो । ऋणको भारी छ, कसरी जीवन गुजार्ने र बालबालिकाको भविष्य बनाउने हरेक दिन पिरोल्ने गरेको गंगादेवीले बताइन् । १८ वर्षदेखि विभिन्न सञ्चार माध्यममा आबद्ध भई मुगुमा बसेर नागरिक दैनिक, नयाँ पत्रिका दैनिक र स्थानीय रेडियो मुगुमा स्टेसन इन्चार्जको रूपमा काम गर्दै आएका मल्लको समाज परिर्वतनमा ठूलो योगदान छ । उनले गरेका उल्लेखनीय कामको यहाँ सबैले प्रशंसा गरेका छन् । मल्लले पत्रकारिताको साटो राजनीति गरेको भए आज उनको सम्झनमा चोकचोकमा शालिक बन्थ्यो होला तर आज उनलाई सम्झिने र दुःख मेटाउने मान्छे समेत उनका परिवारले पाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस